Tuesday, September 26, 2023

कैलालीको मध्ये क्षेत्रमा रक्तसञ्चार सेवा नहुँदा सास्ती सरकारको विनियोजित बजेट बर्सेनि फ्रिज

कार्तिक १७ सुखड,
कैलालीको मध्यवर्ती क्षेत्रका नागरिकहरुले रगत अभावमा निकै सास्ती बेहोर्नु पर्ने बाध्यता छ । रगत अभावकै कारण सडक दुर्घटनामा परेका, सुत्केरी हुने तथा रगत आवश्यक पर्ने अन्य प्रकृतिका बिरामीहरूका लागि सास्ती मात्र हैन ज्यानै समेत जान सक्ने जोखिम रहेको छ ।
यस क्षेत्रमा ब्लड बैङ्क अथवा आकस्मिक रक्तसञ्चार सेवा नहुँदा सुत्केरी तथा रगत आवश्यक पर्ने बिरामीहरूलाई धनगढी, कोहलपुर, नेपालगन्ज पठाउनु पर्ने बाध्यता रहेको र रगत अभावले कतिपयको बाटोमा नै ज्यान जाने गरेको घोडाघोडी अस्पतालका डाक्टर एमएस शेखले बताए । उसो त ब्लड बैङ्क वा रक्तसञ्चार सेवा सञ्चालनका लागि भन्दै घोडाघोडी नगर सरकारले बर्सेनि रकम विनियोजन गर्दै आएको छ । ब्लड बैङ्क पूर्वाधार सञ्चालन सहयोग शीर्षकमा आर्थिक वर्ष २०७५/०७६ मा २० लाख र आर्थिक वर्ष २०७६/०७७ मा २० लाख गरी ४० लाख रुपैयाँ विनियोजन गरिए पनि काम भने हुन सकेको छैन ।
यस क्षेत्रमा आकस्मिक रक्तसञ्चार सेवा सञ्चालनका लागि नगर सरकार, घोडाघोडी अस्पताल र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा सेवा सञ्चालन गर्ने सहमति भए पनि काम भने अघि बढ्न नसकेको घोडाघोडी अस्पतालका अध्यक्ष विष्णु सापकोटा बताउँछन् । लगानी नगर सरकारले गर्ने, कोठा तथा बिद्युतको व्यवस्थापन अस्पतालले गर्ने र सञ्चालन रेडक्रसले गर्ने भन्ने सहमति गत वर्ष नै भएको थियो । उनले भने,… “नगरपालिकाले रक्त सञ्चारका लागि छुट्टाएको रकम नगर कार्यपालिकाले अर्कै शीर्षकमा रकमान्तर गरेकाले काम हुन सकेन । यस वर्ष काम हुन्छ की भन्ने अपेक्षा छ ।”
आकस्मिक रक्तसञ्चार सेवा सञ्चालनको आवश्यक प्रक्रियाका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलाली र उपशाखा दरखले गत वर्ष नै निर्णय गरेर नगरपालिकामा पेस गरी सकेको भए पनि आर्थिक अभावका कारण काम हुन नसकेको नेपाल रेडक्रस सोसाइटी दरख उपशाखाका सभापति दिनेश लामिछाने बताउँछन् । उपशाखा सँग नियमित आयस्रोत नहुँदा रक्त सञ्चारमा आवश्यक पर्ने एक जना कर्मचारीको व्यवस्थापन गर्न सक्ने अवस्था नभएकाले पनि काम रोकिएको भन्दै यस वर्ष भने सबैको सहकार्य र छलफलबाट काम अघि बढ्ने बताएका छन् ।
यस क्षेत्रमा आकस्मिक रक्तसञ्चार सेवा सञ्चालनको आवश्यकता महसुस गरी रकम समेत विनियोजन गरेको भए पनि प्राविधिक समस्याले काम सुरु हुन नसकेको नगर प्रमुख ममता प्रसाद चौधरीले बताए । आवश्यक जनशक्ति, कोठा र विद्युतको व्यवस्थापन घोडाघोडी अस्पतालले गर्ने भन्ने सहमति भएको छ । उनले भने,… “यसमा रेडक्रसले तदारुप्ता देखाउन आवश्यक छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 119

Leave A Reply

Your email address will not be published. Required fields are marked *