नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपालको तीन दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुग्नुभयो । नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा र भारतीय राजदूतावासका अधिकारीले भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेलाई विमानस्थलमा स्वागत गरेका थिए ।
आज विहान आयोजित एक विशेष समारोहमा भारतीय सेना प्रमुख नरवणेले काठमाडौंको टुडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा (शहीद स्मारक) माल्यार्पण गरी मृत शहीदहरु प्रति
श्रद्घान्जली अर्पण गर्नुभयो । तत्पश्चात उहाँ नेपाली सेनाको जंगी अड्डा पुग्नुभयो जहाँ नेपाली सेनाको एक टुकुडीले उहाँको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो । त्यस लगत्तै जनरल नरवणेले नेपाली समकक्षी प्रधान सेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गर्नुभयो । सो भेटमा दुवै पक्षबीच दुई देशका सेनाबीचको सम्बन्ध तथा द्विपक्षीय रक्षा सहकार्य विस्तार गर्ने बारे छलफल भयो । नेपाली सेनाका वरिष्ठ अधिकारीहरुले भारतीय सेना प्रमुख नरवणे समक्ष ब्रिफिङ् पनि गरेका थिए ।
भारत सरकारको तर्पmबाट जनरल नरवणेले नेपाली सेनाका दुई फिल्ड अस्पताललाई एक्स–रे मेसिन, कम्प्युटेड रेडियोग्राफी सिस्टम, आइसीयु भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेसीया मेसिन, ल्याब उपकरण, एम्बुलेन्स लगायतका स्वास्थ्य सामाग्रीहरु प्रदान गर्नुभयो । कोभिड–१९ महामारी विरुद्धको लडाइमा अझ सघाउ पुरयाउन नेपाली सेनालाई थप भेन्टिलेटर पनि उपहारस्वरुप प्रदान गरियो । यस अघि गत जुलाईमा भारतीय सेनाले नेपाली सेनालाई भेन्टिलेटर उपहारस्वरुप प्रदान गरेको थियो ।