भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणेले आज नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुभयो । सेनाध्यक्ष नरवणेसँगै भारतीय राजदूत विनय मोहन क्वात्रा तथा अन्य भारतीय अधिकारीहरुको पनि उक्त भेटवार्तामा उपस्थिति थियो ।
जनरल नरवणेले नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली जनतालाई भारतका माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको तर्फबाट शुभकामना सन्देश सुनाउनु भयो । नेपाल सरकारको न्यानो आतिथ्यका लागि पनि जनरल नरवणेले कृतज्ञता व्यक्त गर्नुभयो । सो भेटवार्तामा भारत र नेपालबीचको विस्तृत द्विपक्षीय साझेदारीबारे दुवै पक्षले छलफल गरेका थिए । जनरल नरवणेले दुई देशबीचको रक्षा सहकार्यलाई अझ सुदृढ पार्र्ने कुरामा जोड दिनुभयो । प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुअघि जनरल नरवणेले शिवपुरीस्थित ‘नेपाली आर्मी कमान्ड एण्ड स्टाफ कलेज’ को भ्रमण गरी त्यहाँका विद्यार्थी तथा कर्मचारीहरुलाई सम्बोधन गर्नुभएको थियो ।
आफ्नो भ्रमण समापन गर्नु अघि जनरल नरवणे भारतीय राजदूतावास पुगी नेपालमा रहेका करिब दुई लाख तीस हजार भारतीय सेनाका भूतपूर्व सैनिकहरु तथा उनीहरुका परिवारजनका लागि परिचालित कल्याणकारी कार्यहरु बारे जानकारी लिनुभएको थियो । सो क्रममा जनरल नरवणेले भारतको दोस्रो उच्च वीरता पुरस्कार ‘महावीर चक्र’ पदकबाट सम्मानित अवकाश प्राप्त हवल्दार दिलबहादुर क्षेत्रीलाई कल्याणकारी अनुदान प्रदान गर्नु भएको थियो । जनरल नरवणेले आफ्नो तीन दिने औपचारिक नेपाल भ्रमण सफलतापूर्वक सम्पन्न गरी आजै बेलुका भारत फर्किनुभयो ।