‘पार्टी एकता कायम रहन्छ, ओली–प्रचण्ड मिल्नुको विकल्प छैन’
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको आन्तरिक किचलोले पार्टी विभाजनको संघारमा पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलले प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेससँग परामर्श थालेका छन्।
पार्टीभित्रको विवाद क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई गलाउने रणनीतिका साथ प्रधानमन्त्री ओलीले कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता साझेदारीको प्रस्ताव गरेका हुन्।
प्रधानमन्त्री ओलीले संवैधानिक नियुक्ति र समसामयिक विषयमा छलफल गरेको उनीनिकट नेताहरु बताउँछन्। तर, प्रधानमन्त्री ओलीले नेकपाभित्रको विवादलाई लिएर कांग्रेस सभापति देउवासँग सत्ता साझेदारीको प्रस्ताव गरेको स्रोतले बतायो।
सभापति देउवासँग ओलीले नेकपाभित्र विवादित बनिरहेको अमेरिकी परियोजना एमसिसीलगायत विषयमा कुरा मिल्छ र पार्टीभित्रैबाट अल्पमतमा परिरहेको बेलामा संसदीय दलमा बहुमत पुर्याउन सजिलो हुने भएकाले सत्ता साझेदारी गरेर बढ्ने प्रस्ताव गरेको उनीनिकट स्रोतको दाबी छ।
प्रधानमन्त्री ओलीले देउवालाई बालुवाटार भेट्दा उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र कांग्रेसका तर्फबाट नेता रमेश लेखक सहभागी थिए। यी नेताहरु सहितको छलफलमा संवैधानिक नियुक्तिको विषयमा मात्रै छलफल भएन। केही समय ओली–देउवा ‘वान टु वाट’ वार्तासमेत भएका थिए। त्यसै क्रममा ओलीले आफू समस्या परेको र पार्टी फुटको सँघारमा जान लागेको भन्दै देउवाको साथ खोजेका थिए।
प्रधानमन्त्री ओलीले देउवासँग सत्ता साझेदारीको प्रस्ताव गरेको भए पनि उनी निकटका नेताहरु त्यो कुरालाई स्वीकार गर्दैनन्। शनिबार बेलुका देउवासँग भेट गरेपछि आइतबार पार्टीको मध्यमार्गी भूमिका निर्वाह गरिरहेका नेकपाका नेताहरू पार्टीभित्र समस्या भए पनि एकताको पक्षमा रहेको बताएका थिए। यस्तोमा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलको तर्क मजबुत छ।
उनले ओली–देउवा भेटपछि भने, ‘हामीले उहाँ(ओली)सँग पार्टीभित्रको विवाद समाधान गरेर एकताको पक्षमा जाने विकल्पबारे छलफल गरेका थियौँ। प्रधानमन्त्री ओलीलाई आइतबार र अध्यक्ष दाहालसँग सोमबारको भेटवार्तामा दुवै अध्यक्ष एकताको पक्षमै देखिनुभएको छ। उहाँहरु मिल्नुको विकल्प छैन’, उनले भने।
ओली–देउवा भेटको चक्र
प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको आन्तरिक स्वार्थमा भागबण्डा नमिलेपछि नेकपाभित्रको विवाद भुसको आगोझैँ बल्झिरहेको छ। यही क्रममा प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति देउवासँग संवैधानिक नियुक्ति तथा समसामयिक राजनीतिक भेटवार्ताको क्रममा छलफल गरिरहेका छन्।
नेकपामा विवाद चर्किएपछि ओलीले देउवासँग ६ पटक भेटवार्ता गरिसकेका छन्। प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला वैशाख १२ गते भेटवार्ता गरेका थिए। त्यति बेला नेकपामा प्रधानमन्त्री ओलीले पार्टी विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि विवाद चर्किरहेको थियो।
त्यसपछि प्रधानमन्त्री ओलीले असार १७ गते देउवासँग भेटवार्ता गरेका थिए। स्थायी कमिटीको बैठक चलिरहेको बेलामा प्रधानमन्त्री ओलीले असार १४ गते नेपाल भारत सीमा समस्यालाई लिएर अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाललाई लक्षित गर्दै आफ्नैबाट सरकार ढाल्ने रणनीति भइरहेको अभिव्यक्ति दिएका थिए। त्यस बखत पनि विवाद उत्कर्षमै थियो।
त्यसपछि प्रधानमन्त्री ओलीले कोरोना महामारी नियन्त्रणका लागि सुझाव लिन साउन ८ गते देउवालाई बालुवाटार बोलाएका थिए। त्यसको भोलिपल्ट साउनको ९ गते नै संवैधानिक नियुक्ति र समसामयिक भन्दै देउवासँग भेटवार्ता गरेका थिए। कोरोना नियन्त्रण गर्नुपर्ने बेलामा सत्ताधारी दल त्यस बेलामा पनि निरन्तर विवादमै रहिरहेको थियो।
नेकपाको विवाद उत्कर्षमा पुगिरहेकै बेलामा भदौ १ गते पनि देउवालाई बालुवाटारमा बेलाएर छलफल गरेका थिए। त्यसबखत संवैधानिक नियुक्तिको विषयमा छलफल गरेको बताएका थिए।
तर, नेकपाको विवाद भदौ २६ मा आएर केही साम्य भएको थियो। भदौ २६ को निर्णय कार्यान्वयन भएकै कारण उत्पन्न विवादले पार्टी विभाजनको संघारमा पुगेको बेला मंसिर ६ गते देउवालाई बोलाएर सत्ता साझेदारीको प्रस्ताव गरेपछि नेकपाभित्रको विवाद थप बढेको हो।
‘कांग्रेस सरकारमा जाँदैन’
प्रधानमन्त्री ओलीले सभापति देउवालाई सत्ता साझेदारीको प्रस्ताव गरेको समाचार बाहिरिएपछि प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेस सरकारमा नजाने बताएका छन्। नेकपाको आफ्नै किचलो नसुल्किएको बेलामा आफूहरु त्यसप्रति निरपेक्ष रहेको बताए।