पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एवं युवा नेता महेश बस्नेतले जनतामा गएर मत लिने कुरालाई गलत अर्थ लगाउन नहुने बताए । राष्ट्रिय युवा सङ्घ गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दै बस्नेतले प्रधानमन्त्रीको जनतामाझ जाने कदमलाई स्वागतयोग्य मान्नु पर्ने बताउँदै सरकारको घोषणालाई अदालतले समेत साथ दिने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको सिफारिस लोकतान्त्रिक अधिकार रहेको बताएका छन् । गुरुङले संसद् विघटन सबैभन्दा लोकतान्त्रिक, संवैधानिक र गणतन्त्रात्मक कुरा रहेको जिकिर गरे ।
उनले भने, “बहुदलीय शासन प्रणालीमा बहुमत प्राप्त प्रधानमन्त्रीलाई जनताले दिएको म्याण्डेटअनुुसार काम गर्ने वातावरण रहेन भने प्रधानमन्त्रीले नयाँ जनमतका लागि संसद् भङ्ग गरेर निर्वाचन घोषणा गर्न सक्दछ, यो संसदीय मूल्य र मान्यताको कूरा हो ।”
नेता गुरुङले संसदीय प्रणालीमा प्रधानमन्त्रीले गरेको सिफारिस लोकतान्त्रिक र संविधानअनुसार हुने भएकाले अब संसद् पुनःस्थापना हुनै नसक्ने दाबी गरे । सरकार चलाउन आफ्नै दलबाट घेराबन्दी गरेर जनताले दिएको मतको अपमान गर्ने परिपाटी अन्त्य गर्नका लागि प्रधानमन्त्री ओलीले जनताबाट फैसला गराउन चाहेको उनको भनाइ छ ।
त्यस्तै अर्का नेता खगराज अधिकारीले तोकिएको मितिमा प्रतिनिधिसभा निर्वाचन भई छाड्ने बताउँदै युवालाई चुनावको तयारीमा लाग्न निर्देशन दिए ।
राष्ट्रिय युवा सङ्घका सहसंयोजक रमेश पौडेलले शीर्ष नेताका असहयोग र घेराबन्दीका कारण केपी ओली नेतृत्वको सरकारले अप्ठ्यारोमा पार्ने काम भएको उल्लेख गरे । युवा भेलाअघि पोखराको अमरसिंह चौरबाट शुरु भएको मोटरसाइकल ¥याली पोखरा सभागृहमा आएर सभामा परिणत भएको थियो ।