January 9, 2021

उत्तरआधुनिकतावाद र मार्क्सवादी सौन्दर्यशास्त्र


भजनबहादुर शाही
सौन्दर्यशास्त्रको इतिहास दर्शनशास्त्रको इतिहाससँग अभिन्न रुपमा गाँसिएको छ। सौन्दर्यशास्त्रलाई कसैले सुन्दरको शास्त्र त कसैले सौन्दर्य चेतना वा अनुभूतिको शास्त्र भनेर परिभाषित गरेका छन्। आदर्शवादी कोणबाट दिइएका कुनै पनि परिभाषाहरुले सौन्दर्यशास्त्रको वास्तविक अर्थलाई प्रष्ट्याउन सकेका छैनन्। मार्क्सवादले मात्र सौन्दर्यशास्त्रलाई विज्ञानको रुपमा परिभाषित गर्दै स्थापित परिभाषा दिएको छ।

मार्क्सवादका अनुसार प्रकृति, जीवनजगत र कलामा सुन्दरको अध्ययन गर्ने विज्ञानलाई सौन्दर्यशास्त्र भनिन्छ। जीवन र जगतलाई सौन्दर्यात्मक ढंगले आत्मसातीकरण गर्ने नियम र सौन्दर्यका नियमानुसार सिर्जना गरिएका कार्यको सार र रुपलाई सौन्दर्यशास्त्रले नै अभिव्यक्त गर्दछ। यसले यथार्थसँग मानिसको सम्बन्धको उजागर गर्दछ।

१. सौन्दर्यको उत्पत्ति

 सौन्दर्यको स्रोत मानवीय श्रम हो, सौन्दर्यको जन्म मानवीय श्रममूलक गतिविधिका विचबाट हुन्छ। आत्म र वस्तुको बीच सम्बन्ध स्थापित गर्ने कार्यमा मानवीय श्रम शक्तिको महत्वपूर्ण भूमिका हुन्छ। श्रमशक्ति त्यो मानवीय उर्जा हो, जसले आत्म र वस्तुको पशुवत् सम्बन्धलाई समाप्त पार्दै मानवीय सम्बन्ध कायम गर्ने आधार तयार पार्दछ।

 पहिलो अवस्थामा मानिसका भौतिक आवश्यकताको परिपूर्ति गर्ने क्षमता प्रमुख र सांस्कृतिक आवश्यकता पूरा गर्ने क्षमता गौँण रुपमा सन्निहित रहेको हुन्छ।

 दोस्रो अवस्थामा जब प्रकृतिको मानविकरणको प्रक्रिया उच्च स्तरमा विकसित हुँदै जान्छ, त्यो बेला मानिसमा सांस्कृतिक आवश्यकता परिपूर्ति गर्ने क्षमताको विकासको साथै सौन्दर्यपरक वस्तु अर्थात् कलाको पनि विकास हुँदै जान्छ। यसरी श्रमशक्तिले आत्म र वस्तुका बीचको सम्बन्धलाई सौन्दर्यको उत्पत्ति प्रक्रियासँग जोड्ने काम गर्दछ।

२. सौन्दर्यपरक आदर्श

 सौन्दर्यमूलक आवश्यकता आत्मगत पक्ष हो भने सौन्दर्यमूलक गतिविधि वस्तुगत पक्ष हो। त्यस्तै कलामूलक आवश्यकता आत्मगत र कलामूलक गतिविधि वस्तुगत पक्षअन्तर्गत पर्दछन्। त्यसैगरी सौन्दर्यपरक आदर्श आत्मगत र सौन्दर्यपरक यथार्थ वस्तुगत हुन्छन्। यसप्रकार वस्तुवगत र आत्मगत पक्षका बिच द्वन्दात्मक एकत्व हुन्छ। सौन्दर्यपरक आदर्श सौन्दर्यमूलक आवश्यकताको सर्वोच्व अभिव्यक्ति हो।

 सौन्दर्यपरक आवश्यकता मानिसका अनेकौँ सौन्दर्यमूलक गतिविधिहरुमा प्रकट हुन्छ। सौन्दर्यमूलक आवश्यकता तथा गतिविधिको घनिभूत अभिव्यक्ति कलामुलक आवश्यकता तथा कलाका विभिन्न रुपहरुमा प्रकट हुने गर्दछ।

 सौन्दर्यपरक आदर्श मानवीय स्वतन्त्रता, मुक्ति र प्रर्णतामा आधारित रहेको छ। सौन्दर्यपरक आदर्शले यथार्थमा अभिव्यक्त हुन खोज्दछ। यो अभिव्यक्ति सौन्दर्यमूलक तथा कालमूल गतिविधिहरुमा देखा पर्दछ।

३. सौन्दर्यानुभूति

 वस्तु र आत्मको एकत्वमा आधारित छ। सौन्दर्यानुभूतिको सृष्टि एकातिर सौन्दर्यपरक यथार्थ परिघटना वा, कलाजस्ता वस्तुगत पक्ष र अर्कोतिर त्यसलाई ग्रहण गर्नसक्ने आत्मिक क्षमताको द्वन्दात्मक एकत्वका बिचबाट हुन्छ।

 सौन्दर्यानुभूति संवेदनात्मक स्तरमा मात्र होइन, बौद्धिक र भावनात्मक स्तरमा पनि हुने गर्दछ।

 प्रेम, घृणा, हाँसो, आँसु, उत्साह, अनुत्साह, आश्चर्य–विभत्स, वीरता–कायरता, आशा–निराशाजस्ता मनोभावहरुको सौन्दर्यानुभूतिका क्षेत्रमा विशेष महत्व हुन्छ। वर्गसमाजमा यी सबै मनोभावनाहरु वर्गीय हुने गर्दछन्।

४. सौन्दर्यमूल्य

 जुन चीजमा मानिसको सौन्दर्यपरक आवश्यकताको परिपूर्ति गर्ने क्षमता छ। त्यसैमा सौन्दर्यमूल्य सन्निहित रहेको हुन्छ। सौन्दर्यमूल्य आत्म र वस्तुको द्वन्दात्मक एकत्वमा आधारित हुन्छ। सुन्दरवस्तुले आत्ममा सुन्दरचेतना जागृत गराउने क्षमता राख्दछ। सौन्दर्यमूल्यअन्तर्गत उत्कृष्ट जीवनमूल्य पर्दछ।

५. यथार्थलाई बुझ्ने र बदल्ने प्रश्न

 यथार्थलाई सौन्दर्यात्मक ढंगले आत्मसात गर्ने र सौन्दर्यको मान्यताअनुसार नयाँ यथार्थको निर्माण गर्ने काम पनि आत्म र वस्तुको द्वन्दात्मक सम्बन्धमा आधारित रहेको छ। जेहाउ लि र जेने कवेलले मार्क्सको सौन्दर्यको नियमसम्बन्धी मान्यतामाथि ध्यान दिँदै भन्छन् – सौन्दर्यलाई आत्म र वस्तुको केवल वस्तुगत यथार्थ र आत्मगत व्यवहारको अन्तरकृयाको चेतनाको रुपमा प्रस्तुत गर्न सकिन्छ। मानिसले सौन्दर्यको नियमअनुसार पनि वस्तुको रचना गर्दछ भन्ने वाक्यलाई उदृत गरिसकेपछि दुवै सौन्दर्यशास्त्रीहरु भन्छन्। त्यसैले भन्ने शब्दले आत्म र वस्तुको एकरुपतालाई सङ्केत गर्दछ। किनभने मानवजाति उद्धेश्यको आन्तरिक मापसँग सम्बन्धित रही आत्माको व्यवहारका रुपमा प्रकृतिको वस्तुगत नियमअनुसार उत्पादनमा भाग लिन समर्थ छ। यो त्यसैले आफ्ना आत्मगत आवश्यकताहरुको परिपूर्तिका लागि प्राकृतिक वस्तुहरुको नियमअनुसार वस्तुगत जगतलाई रुपान्तरण गर्न समर्थ छ। रुपान्तरित जगतको रुप सौन्दर्य हो र त्यसैले मानिसले सौन्दर्यको नियम अनुसार वस्तुको रचना गर्दछ ।सामान्य सौन्दर्यशास्त्र – कलात्मक समालोचना र रसास्वादन।

विशिष्ट सौन्दर्यशास्त्र – संगीत, फिल्म, नाटक, नृत्य, लेखनत्रकला, प्लाष्टिक कला।

सजावटको सौन्दर्यशास्त्र – बगैँचा, पार्क, वातावरण, भेषभूषा, आभूषण तथा सौन्दर्य प्रसाधन।

वैज्ञानिक तथा प्राविधिक सौन्दर्यशास्त्र – समय, दिशा, गति, ध्वनि तथा प्रकाशका समस्याहरु र औद्योगिक डिजाइन।

सामाजिक सौन्दर्यशास्त्र – सामाजिक जीवन, सामाजिक संरचना, संस्कृति तथा रितिरिवाज।

शैक्षिक सौन्दर्यशास्त्र – नैतिक, बौद्धिक तथा शारीरिक शिक्षाका सौन्दर्यपरक समस्याहरु र कलामा शिक्षाको समस्या।

यो वर्गीकरण कति सही र वैज्ञानिक छ, त्यो छलफल र अध्ययनको विषय हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *