January 8, 2021

घोडाघोडीमा कोभिड अस्थायी अस्पताल सञ्चालनमा ढिलाइ, छिट्टै सञ्चालन हुन्छ : नगर प्रमुख

कार्तिक १५ सुखड,

कैलालीको घोडाघोडीमा कोभिड अस्थायी अस्पताल सञ्चालनका लागि ढिलासुस्ती भएको छ । कोभिड-१९ को सङ्क्रमण रोकथाम तथा उपचारका लागि पाँच शैयाको कोभिड अस्थायी अस्पताल सञ्चालन गर्न भन्दै सङ्घीय सरकारले रकम पठाएको अढाई महिना सम्म पनि काम सुरु हुन सकेको छैन ।

सङ्घीय सरकारले चार कर्मचारीको दरबन्दी सहितको अस्थायी अस्पताल सञ्चालनका लागि गत भदौ महिनामा नै दश लाख पठाई सकेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । तीन महिनामा खर्च गर्ने गरी आएको उक्त रकम अढाई महिना सम्म पनि परिचालन हुन सकेको छैन । घोडाघोडीको दरख स्वास्थ्य चौकीलाई हाल कोभिड अस्पतालको रूपमा सञ्चालन गर्ने र भविष्यमा नगर अस्पतालको रूपमा समेत विकास गर्ने गरी योजना निर्माण भइरहेकाले त्यसको व्यवस्थापन तथा तयारीमा जुटेको स्वास्थ्य शाखा संयोजक कैलाश कुमार रावतले बताएका छन् ।

दुई स्टाफ नर्स, एक एमबिबिएस डाक्टर र एक कार्यालय सहयोगी सहितका चार दरबन्दी मध्ये तीन वटा पदपूर्ति भइसकेको र एमबिबिएस डाक्टरका लागि दुई पटक आवेदन खुल्ला गर्दा समेत आवेदन नपरेकाले अस्पताल सञ्चालनको काममा ढिलाइ भएको नगर सरकारको भनाई छ । सङ्घीय सरकारले कार्यविधि बिना नै कोभिड अस्पताल निर्माणका लागि रकम पठाएकाले पनि समस्या भएको प्रमुख ममता प्रसाद चौधरीले बताए । अस्पताल सञ्चालन कार्यविधि ढिला गरी प्राप्त भएको र एमबिबिएस डाक्टरको पदपूर्ति पनि समयमै नभएकाले ढिलासुस्ती भएको भन्दै नगर प्रमुख चौधरीले अव तिहार लगत्तै अस्पताल सञ्चालन गर्ने गरी काम भइरहेको बताएका छन् ।

सङ्घीय सरकारबाट प्राप्त रकमले कर्मचारीको सेवा सुविधा, बेड तथा औषधी खरिद सँगै अन्य व्यवस्थापन गरिने बताइएको छ । उक्त अस्पतालमा कोरोनाका लक्षण चिन्ह भएकाहरूको चेकजाच, स्वाब सङ्कलन, परामर्श तथा फेबर क्लिनिक सञ्चालन सँगै आइसोलेसन पनि सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *