January 6, 2021

सचिवालय हुँदै केन्द्रीय कमिटी बैठकबाट विवाद छिनोफानो गर्ने प्रचण्डको प्रस्ताव


काठमाडौं, १५ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तिहार अगावै पार्टी कमिटीहरुको बैठक डाक्न प्रस्ताव गरेका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तामा यस्तो प्रस्ताव गरेका हुन् ।

प्रचण्ड निकट स्रोतका अनुसार उनले एक दुई दिनभित्रै सचिवालय बैठक बोलाउने प्रस्ताव गरेका छन् । पार्टीमा उठेका समस्याको समाधान सचिवालय बैठकमा छलफल गर्नुपर्नेमा उनले जोड दिए । प्रचण्डको प्रस्तावमा ओलीले भने बैठक डाक्न विभिन्न समस्या रहेको जवाफ दिए । उनले आफूहरु बसेर पहिले सहमति खोज्नुपर्नेमा जोड दिए ।

पार्टीमा विगतमा भएको सहमति कार्यान्वयन नभएको, सरकार सञ्चालन गर्दा पार्टीलाई पूरै बेवास्ता गरिएको विषय प्रचण्डले उठाएका थिए । उनले पार्टीमा छलफल र समन्वय गरी सरकारको कामकारबाही नभएकोमा तिव्र असन्तुष्टि पोखेका थिए । विशेषगरी राजदूत नियुक्ति, मन्त्रिमण्डल पुर्नगठन, पर्सामा महेश चौरसिया मृत्यु प्रकरणमा मुद्दा दर्ता गर्न भएको अवरोध, भारतको गुप्तचर निकाय रअका प्रमुख सामन्त गोयलको भ्रमणलगायतका विषयमा प्रचण्डको असन्तुष्टि थियो ।

११ दिनको संवादहीनता अन्त गर्दै प्रचण्ड आज बालुवाटार पुगेका थिए । उनले प्रधानमन्त्री ओलीसँग खुलेर कुराकानी गरेका थिए । पार्टीको विवादको छिनोफानो पार्टी कमिटीमा छलफल गरी गर्नुपर्ने प्रचण्डको प्रस्ताव रहेको थियो । उनले स्थगित केन्द्रीय कमिटी बैठक जतिसक्दो छिटो शुरु गर्नुपर्नेमा समेत जोड दिएको बुझिएको छ ।

प्रचण्डले आफूले हदैसम्म लचकता देखाउँदा पनि कमजोरी ठानिएको भन्दै असन्तुष्टि व्यक्त गरेको बुझिएको छ । उनले पार्टीलाई कमजोर बनाउने गतिविधिहरु भएकोतर्फ औल्याउँदै दुर्घटनाको खतरा समेत उल्लेख गरेको स्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *