January 5, 2021

भारतीय विदेश सचिवको नेपाल भ्रमणमा सीमा विवाद र ईपीजीको प्रतिवेदनबारे कुरा हुनुपर्छ: कूटनीतिज्ञ

काठमाडौँ — नेपालका लागि भारतका पूर्व राजदूत रन्जित रेले भारतका विदेश सचिव हर्षवर्द्धन श्रृंगलाको नेपाल भ्रमणको दौरान सीमा विवाद, ईपीजी (प्रबुद्ध व्यक्ति समूह) को प्रतिवेदन र विकास ठूला परियोजनालाई अगाडी बढाउने विषयमा ठोस कुराकानी हुनुपर्ने बताएका छन् ।

श्रृंगलाले मंसिर ११ र १२ गते नेपालको भ्रमण गर्दै छन् । ‘एसियन इन्ष्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल रिलेसेन’ ले भारतको विवेकानन्द इन्टरनेसनल फाउन्डेसनसँगको सहकार्यमा आयोजना गरेको नेपाल–भारत सम्बन्ध विषयक वेविनारमा पूर्व राजदूत रेले ठोस कुराकानी गर्नु पर्नेमा जोड दिएका हुन् ।

नेकपाका सांसद तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य दीपकप्रकाश भट्टले दुई देशकोबीचमा रहेका ठूला समस्याहरु समाधान हुन नसकेको बताए । उनले ईपीजी प्रतिवेदन बुझ्‍न नसक्ने हो भने के कारण खुलाएर जनतालाई बताउनु पर्ने सुझाव दिए ।

उनले यस विषयमा टेबलमा वार्ता गर्नु पर्नेमा जोड दिए । भट्टले थपे,‘नेपाल र भारतकोबीचमा रहेका समस्याहरु राजनीतिक तह र दुई देशको बीचमा रहेका विभिन्‍‍न संयन्त्रहरुमा छलफल हुनुपर्छ । उनले सिमानका सम्बन्धमा पहिला दुवै देशको नापी विभागमा, त्यसपछि कूटनीतिक तहमा र उच्च तहमा वार्ता हुनुपर्छ ।’

कांग्रेसका नेता उदय शमशेर राणाले भारत र चीनसँग सिमाना जोडिएको नेपालको छिमेकीसँगको सम्बन्ध जहिले पनि उच्च प्राथमिकतामा रहेको बताए ।

आयोजक संस्थाका संस्थापक सुनिल केसीले नेपाल र भारत दुवैले अब आर्थिक सहकार्यको विषयलाई अगाडी बढाउनु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *