January 3, 2021

सुदूरपश्चिम प्रदेश सरकार फेरिन सक्ने,प्रचण्ड–नेपाल समूहभित्रकै पदका लागि हानथाप

धनगढीः सुदूरपश्चिम प्रदेशमा प्रचण्ड–नेपाल समूहभित्र पदका लागि हानथाप तीव्र बनेको छ। 

नेकपा विभाजनपछि प्रचण्ड–नेपाल समूहले सुदूरपश्चिम प्रदेश सरकार सुरक्षित रहेको दाबी गरेका बेला प्रदेशसभा सदस्यहरुबीच भने पद हत्याउने दौडधुप र हानथाप तीब्र बनेको हो। 

मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले ओली समूहका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरेका थिए। भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि मात्र प्रचण्ड–नेपाल समूहमा पूर्व एमालेका २ र पूर्व माओवादीका एक गरि ३ जना प्रदेशसभा सदस्यहरुले लबिङ तीब्र बनाएका छन्। 

‘पार्टीका प्रमुख सचेतक तारालामा तामाङ, पूर्व सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी र नेकपाका केन्द्रीय सदस्य समेत रहेका प्रदेशसभा सदस्य बिरमान चौधरीले भित्रभित्रै लबिङ गरिरहेका छन्,’प्रचण्ड–नेपाल समूहका प्रदेशसभा सदस्यले भने, ‘उनीहरुले जिम्मेवारी नपाएमा समूह नै परिवर्तन गरिदिने चेतावनी दिएका छन्।’

प्रमुख सचेतक तामाङले पूर्व खानेपानी मन्त्री बिना मगरलाई टेलिफोन गरेरै भौतिक मन्त्रालयको जिम्मेवारी नपाएमा खेमा परिवर्तन गर्ने चेतावनी दिएको स्रोत दाबी गर्छ।

‘बुधबार संसदीय दलको कार्यालयमा उहाँहरुको बैठक पनि बसेको थियो,’ स्रोतले भन्यो, ‘कार्यालय परिसरबाटै मगरलाई फोन गरि उहाँले आफूले इच्छाएको मन्त्रालयको जिम्मेवारी नदिए प्रचण्ड–नेपाल खेमामा बसिरहन नसक्ने स्पष्ट रुपमा भन्नुभएको छ।’

कृषि र वन मन्त्री बन्न प्रदेशसभा सदस्य जोशी र मल्लको दौडधुप !

प्रचण्ड–नेपाल समूहभित्र भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री बिनिता चौधरी र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टलाई पनि पदबाट हटाउन दबाब परेको छ। 

‘उहाँहरु दुवै मन्त्री ज्यूको पद पनि धरापमा छ,’ समाचार स्रोतले दिनेशखबरसँग भन्यो, ‘असन्तुष्ट पक्षलाई व्यवस्थापन गरि अर्को समूहमा जान नदिने रणनीति अन्तरगत प्रदेशसभा सदस्य पूर्णा जोशी र देवकी मल्ललाई पनि मन्त्री बनाउने आश्वासन दिइएको छ।’ 

जोशी र मल्ललाई राज्यमन्त्री बनाउने आश्वासन प्रचण्ड–नेपाल समूहले दिएपनि उनीहरुले मन्त्री नै मागेको बताइन्छ। जोशीले वन र मल्लले कृषि मन्त्रालय दिनुपर्ने माग गरेको स्रोतको दाबी छ। 

अर्थमन्त्री बन्न सचेतक रावल पनि दौडधुपमा 

ओली समूहले केन्द्रीय सदस्यमा नियुक्त गरेपछि आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराको पद पनि धरापमा परेको छ।

धेरैले मंगलबार नै मुख्यमन्त्रीले उनलाई पनि बर्खास्त गर्ने आकलन गरेका बेला अहिलेसम्म पदबाट हटाइएको छैन। तर बोहराले आफै राजिनामा दिने भनेकाले मुख्यमन्त्रीले तत्काल पदमुक्त नगरेको दाबी समाचार स्रोतको छ। उनी पदमुक्त भएमा अर्थमन्त्री बन्ने दौडमा नेकपा प्रचण्ड–नेपाल समूहका सचेतक अक्कलबहादुर रावल रहेको एक प्रदेशसभा सदस्यले दिनेशखबरलाई बताए। 

कानून मन्त्री शाह मुख्यमन्त्री बन्ने दाउमा 

आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाह भने मुख्यमन्त्री बन्ने दाउमा लागेको दाबी गरिन्छ। 

काठमाडौँमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष माधवकुमार नेपालसँग एक्लाएक्लै भेटवार्ता गरेर फर्किएका भनिएका शाहले मुख्यमन्त्री भट्टलाई पदमुक्त गरि मुख्यमन्त्री बन्ने चाहना राखेको स्रोत बताउँछ। 

मुख्यमन्त्री पनि रेड जोनमा 

आन्तरिक मामिला तथा कानून मन्त्री शाहले मुख्यमन्त्री बन्न माथिल्लो तहमा नेताहरुसँग छलफल तीव्र बनाएपछि प्रचण्ड–नेपाल समूहमै रहेका मुख्यमन्त्री त्रिलोचन भट्टको पद पनि धरापमा पर्ने देखिन्छ।

आफूसँग बहुमत भएकाले कसैले हटाउन नसक्ने दाबी गर्दै आएका मुख्यमन्त्री भट्ट गुटभित्रैको आन्तरिक किचलोमा अल्झीएको स्रोतको भनाई छ। सोही कारण उनले केही दिनअघि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई सत्ता साझेदारीको प्रस्ताव राखेको हुनसक्ने बताइएको छ। 

४ जना प्रदेशसभा सदस्यलाई राज्यमन्त्री काे ?

प्रचण्ड–नेपाल समूहले गुटको आन्तरिक किचलो व्यवस्थापन गर्न राज्यमन्त्री थप्ने तयारी गरेको छ।

सोही अनुसार असन्तुष्ट प्रदेशसभा सदस्यलाई राज्यमन्त्री कार्ड देखाएर फकाउने कोसिस भइरहेको छ। तर उनीहरुले पनि राज्यमन्त्री पद स्वीकार्य नहुने बताएपछि असन्तुष्टि व्यवस्थापनको मुद्दा थप पेचिलो बन्दै गएको प्रचण्ड–नेपाल समूहकै प्रदेशसभा सदस्य बताउँछन्।

६ जना प्रदेशसभा सदस्य मौन 

प्रचण्ड–नेपाल समूहभित्र तत्काल ६ जना प्रदेशसभा सदस्यहरु पदको दौडधुपमा नलागेर पर्ख र हेरको अवस्थामा रहेको दाबी गरिएको छ।

प्रदेशसभा सदस्य मानबहादुर धामी, लालबहादुर खड्का, शान्ति नेपाली, बलबहादुर सोडारी, वलदेव रेग्मी र दुर्गा कामी पदका लागि हानथाप गर्न उद्दत नभएको देखिएको स्रोतको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *