January 29, 2021

नेकपाको विवाद निर्वाचन आयोगले टुंङ्ग्याइसकेको सुवास नेम्वाङको दाबी

काठमाडौं, माघ १६ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षले दल दर्ताको प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

शुक्रबार निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागी हुँदै नेकपाका ओली पक्षीय नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन गर्नुको विकल्प नभएको भन्दै तदारुकताका साथ दल दर्ताको काम अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गरिएको बताउनुभयो ।

उहाँले निर्वाचन आयोगले ढिलो नगरी काम अगाडि बढाउनुपर्ने भन्दै निर्वाचनको काममा आफुहरुको सहयोग र समर्थन रहने पनि बताउनुभयो ।

आयोगसँगको छलफल पछि सञ्चारकर्मीसँग नेता नेम्वाङले निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने कुरा निर्वाचन आयोगमा राखिएको जानकारी दिनुभयो ।

नेम्वाङले नेकपा आधिकारिकताको विवाद निर्वाचन आयोगले टुङ्ग्याइसकेको पनि बताउनुभयो ।

आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले भने नेकपाको दुवै पक्षले आयोगसमक्ष आधिकारिकताको निम्ति दाबी पेश नगरेको बताउनुभयो ।

आयुक्त पौड्यालले नेकपाको आधिकारिकताबारे निर्वाचन आयोगले कुनै पनि निर्णय नगरेको पनि स्पष्ट पार्नुभयो ।

आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सुचना प्रकाशन र आयोगले निर्वाचन तयारीको सम्बन्धमा हालसम्म गरेका कामको विषयमा छलफल गर्न भनी शुक्रबार नेकपाको दुवै पक्षलाई बोलाएको थियो ।

ओली पक्षको तर्फबाट नेकपा नेता सुवासचन्द्र नेम्वाङ र मन्त्रीद्धय बिष्णुप्रसाद पौडेल र कृष्णगोपाल श्रेष्ठ उपस्थित हुनुभएको थियो ।

तर (नेकपा) प्रचण्ड–नेपाल पक्षले भने छलफलमा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल उपस्थित हुन चाहेपनि उपत्यकाबाहिर भएका कारण उपस्थित हुन नसकेकोले माघ १८ गतेपछि छलफल राख्न औपचारिक पत्र पठाएको थियो ।

नेताहरु राजेन्द्र पाण्डे, लिलामणि पोखरेल र मुक्ति प्रधान आयोग पुगेर पत्र बुझाउनु भएको थियो ।

सञ्चारकर्मीमाझ प्रतिक्रिया दिदैँ नेता पाण्डेले अध्यक्षद्धयको सहभागिता हुन नसकेका कारण पछि छलफल राख्न आग्रह गरिएको बताउनुभयो ।

नेकपा आधिकारिकताको सम्बन्धमा विवाद भइरहेको बेला विवाद निरुपण नगरी दल दर्ताको सुचना निकाल्नु नहुने उहाँको भनाई छ ।

आयोगले निर्वाचन गराउने उद्देश्य नराखेको उहाँको भनाई छ ।

आयोगले निधारमा कालो धब्बा लगाउने प्रकारको काम गरेको पाण्डेले टिप्पणी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *