वैशाख १७ गते ४० र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाडौं– मन्त्रिपरिषद्ले दुई चरणमा निर्वाचन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्ले दुई चरणमा निर्वाचन हुने प्रदेशहरु र त्यसअन्तर्गतका जिल्ला विभाजन गरेको हो।
वैशाख १७ मा प्रदेश २, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका ४० जिल्लामा निर्वाचन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ। त्यस्तै, वैशाख २७ गते प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेश अन्तर्गत ३७ जिल्लामा निर्वाचन हुने एक मन्त्रीले जानकारी दिए।
गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति तोकिएको थियो। तर, त्यस विरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ चलिरहेकाले निर्वाचन हुने वा नहुनेमा आशंका छ। निर्वाचन आयोगले भने निर्वाचनको तयारी अगाडि बढेको बताउने गरेको छ।
प्रतिनिधि सभा विघटनका विरुद्ध सडक आन्दोलन गर्दै आएका नेकपाकै एक पक्ष र अन्य कतिपय दल र नेताहरुले भने वैशाखमा निर्वाचन गर्ने सरकारको नियत नभएको र सम्भव नभएको बताउने गरेका छन्।
यसैबीच, मंगलबार ११ बजे प्रधानमन्त्री केपी शर्मा निर्वाचन आयोग जाँदैछन्। उनले नेकपा विवादको विषय र निर्वाचन सम्बन्धमा मन्त्रिपरिषद्ले गरेका निर्णयका विषयमा पनि छलफल गर्ने बताइएको छ।