February 19, 2021

एमिकस क्युरीकाे बहस पनि सकियाे, इजलासले अब कानुन व्यवसायीका बहस नाेट अध्ययन गर्ने

सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामाथिकाे सुनुवाइमा एमिकस क्युरीले राय दिने क्रम आज सकिएकाे छ । साेमबार पक्ष र विपक्षको बहस तथा निवेदकतर्फको जवाफ सकिएसँगै मंगलबारदेखि शुक्रबारसम्म संवैधानिक इजलासले एमिकस क्युरीकाे राय लिएकाे हाे । 

४ माघयता निरन्तर सुनुवाइ भइरहेकाे याे मुद्दामा एमिकस क्युरीबाट पाँच जना वरिष्ठ कानुन व्यवसायीले इजलाससामु सुझाव पेस गरे ।  

एमिकस क्युरीकाे बहस सकिएसँगै इजलासले कानुन व्यवसायीका बहस नाेट अध्ययन गर्ने भएकाे छ । १० फागुनसम्म बहस नाेट पेस गर्न प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर राणाले अधिवक्ताहरूलाई भनेका छन् ।

गत १० पुसमा सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा छलफल गर्न विज्ञहरूको टोली (एमिकस क्युरी) बलाउने निर्णय गरेको थियाे । विज्ञ टोलीको परामर्श लिने कार्यलाई अदालती भाषामा एमिकस क्युरी भनिन्छ  ।

एमिकस क्युरीमा नेपाल बारबाट वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेल, विजयकान्त मैनाली र बद्रिबहादुर कार्की तथा सर्वोच्च बारबाट अध्यक्ष पूर्णमान शाक्य र वरिष्ठ अधिवक्ता गीता पाठक छन् ।  

एमिकस क्युरीलाई अदालतको सहयाेगी मानिन्छ । कुनै विशेष मुद्दामा विज्ञको राय लिन अदालतले आवश्यक ठानेमा एमिकस क्युरी बोलाउन सक्छ ।

एमिकस क्युरीले सम्बन्धित मुद्दाको पक्ष या विपक्षमा नलागी स्वतन्त्र र निस्पक्ष ढंगले आफ्नो राय दिन्छ भन्ने विश्वास गरिन्छ । मुद्दाका पक्ष या विपक्षले आफ्नो पक्षको तर्फबाट बहस गर्छन् । तर, एमिकस क्युरीले भने स्वतन्त्रतापूर्वक आफ्नो राय राख्छ ।  आजको शिलापत्र बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *