July 18, 2021

कैलालीको घोडाघोडीमा लोपोन्मुख सालक भेटियो

फागुन २२ सुखड– कैलालीमा लोपोन्मुख सालक फेला परेको छ । जिल्लाको घोडाघोडी नगरपालिका ५ डोडा नदी बाट लोपोन्मुख सालक फेला परेको हो । शुक्रवार राति डोडा नदी बाट गाउँ पस्दै गरेको अवस्थामा स्थानीयहरूले सालकलाई देखेका थिए ।  सालक फेला परेको सुचना पाए पछि शुक्रवार  राति नै वनकर्मीको टोलीले सालकको उद्धार गरेको  सब डिभिजन वन कार्यालय सुखडका प्रमुख समीर थापाले जानकारी दिए । झण्डै १६ किलो तौल र १४ ईन्च लम्बाई रहेको थापाले बताए । शुक्रवार  राति नै सालकलाई उद्धार गरी सब डिभिजन वन कार्यालय सुखडमा राखिएको छ । सालक भेटिएपछि एकाबिहानै सब डिभिजन वन कार्यालय सुखडमा हेर्ने मान्छेको भीड लागेको थियो । दुर्लभ सालकलाई उद्धार गरेर उसकै प्राकृतिक वासस्थान छोड्ने तयारी भइरहेको बताईएको छ । सो सालक बसन्ता वनबाटै गाउँसम्म आएको हुन सक्ने बताइएको छ । यसअघि, यही प्रजातिको सालक कैलारी गाउँपालिका–५, बंगालीपुर टोलमा र भजनी नगरपालिकाको पशुपति सामुदायिक वनमा फेला परेको थियो । सालक नेपालमा अति लोपोन्मुख वन्यजन्तुमा पर्ने भए पनि छालाका लागि चोरी तस्करी हुँदै आएको बताइन्छ । कैलालीमा यसको सङ्ख्या अति न्यून रहेको छ । स्थानीय थारु भाषामा सालमच्छी र नेपालीमा तामे सालक भनेर चिनिने सालकको अङ्ग्रेजी नाम पेङ्गोलिङ्ग प्राय नेपाल, भारत, चीन लगायतका दक्षिण एसियाली राष्ट्रहरू तथा अफ्रिकाका उष्ण भू–भागमा पाइन्छ । शरीरमा ठुलठुला कत्लाले ढाकेको र खबटामुनि पहेँलो जगर जस्ता रौँ उम्रेका हुन्छन्। पुच्छरको सहायताले रुखको हाँगामा झुन्डिने यो जनावर खतरा महसुस भएमा त्यसबाट जोगिन डल्लो पर्ने संरक्षण विद्को भनाइ छ । विश्वभर आठ जातिका सालक पाइने गरेकोमा नेपालमा भने सङ्कटग्रस्त कालो सालक र लोपोन्मुख तामे सालक मात्र पाइन्छन्। तर, धादिङको थाङसिङ बेसी, काभ्रेको बलथली, काठमाडौंको नागार्जुन साथै रामेछापका केही स्थानमा सेतो सालक पनि पाइने वन्यजन्तु विज्ञको भनाइ छ। दुई हजार ५०० मिटर उचाइको सालको जङ्गलमा भेटिने सालकको दाँत नभए पनि ६० देखि ७० सेन्टिमिटरसम्म फैलने जिब्रोको सहायताले धमिरा र कमिला खान्छ । राति आहारा खोज्न निस्कने सालक माटोकै रङ्गको भएकाले छुट्ट्याउन मुस्किल पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *