July 18, 2021

नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न एमाले सुदूरपश्चिम संसदीय दलको ह्वीप

 नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । आइतबार बस्ने प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित भएर प्रदेश सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न संसदीय दलका नेता प्रकाशबहादुर शाहले ह्वीप जारी गरेका हुन् ।

प्रमुख सचेतक दुर्गाकुमारी कामीले दलका नेता शाहको निर्देशनअनुसार एमालेका २४ जना प्रदेशसभा सदस्यहरुलाई एसएमएस गर्दै नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी भएको जानकारी गराएकी छन् । तर एमाले संसदीय दलले गरेको ह्वीप पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षीय प्रदेशसभा सदस्यहरुले नमान्ने भएका छन् ।

१० जेठमा बसेको एमाले स्थायी कमिटी बैठकले माओवादी नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर १२ जेठमा बसेको माधव पक्षको बहुमत रहेको प्रदेश संसदीय दलले समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।

लगत्तै मुख्यमन्त्री भट्टले एमालेका तीन मन्त्रीलाई राजीनामा गराएर चार जना मन्त्री र तीन जना राज्यमन्त्री थपेका थिए । २५ जेठमा माधव पक्षका १७ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिंदै मुख्यमन्त्री भट्टको पद जोगाएका थिए भने ओली पक्षका ७ र जसपाका २ जना गरेर ९ जनाले विपक्षमा मतदान गरेका थिए । कांग्रेसका १२ जना प्रदेशसभा सदस्यहरु भने तटस्थ बसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *