July 22, 2021

न्यायपालिकाका गलत फैसलाका बारेमा जनतालाई सुसूचित गराउनुपर्छ : राष्ट्रिय सभा सदस्य दाहाल

राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले न्यायपालिकाका गलत फैसलाहरुका बारेमा जनतालाई सुसूचित गराउनुपर्ने बताएका छन् । राष्ट्रिय सभाको विहीबारको बैठकको बिशेष समयमा बोल्दै दाहालले अदालतले गरेका गलत निर्णयहरुलाई हेरेरमात्र बस्न नहुने भन्दै यसबारे जनतालाई सुसूचित गराउनुपर्ने बताएका हुन् ।

उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि परमादेश जारी गरिएको सम्बन्धमा राष्ट्रिय सभामा छलफल हुनुपर्ने बताए । सदन स्वभाविक रुपले जनताका प्रतिनिधिहरु भएको संस्था भएकाले यसमा जनताको चासोको बिषयलाई छलफल चलाउनुपर्ने उनको भनाइ छ ।

त्यस्तै राष्ट्रियसभा रमेशजंग रायमाझीले अन्य दलका कारणले भन्दा पनि दुई तिहाइको सरकार आफ्नै कारणले असफल भएको टिप्पणी गरे । सांसद रामनारायण विडारीले वर्तमान सरकारलाई विकास निर्माणका साथै किसान र मजदूरको पक्षमा काम गर्न अग्रह गरे ।

उनले सर्वोच्च अदालतको परमादेशबारे राजनीतिक दलका नेताहरुले गरेको टिप्पणीले संवैधानिक नैतिकताको खाडल सिर्जना भएको टिप्पणी गरे । सांसद ठगेन्द्र प्रकाश पुरीले बजारमा वस्तु खरीद गर्दा उपभोक्ता ठगिने गरेको बताउँदै वस्तुको बिक्री वितरणसम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

बैठकमा “न्याय परिषद् र न्यायसेवा आयोगको वार्षिक प्रतिवेदन, २०७६÷७७” पेश भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले आयोगको वार्षिक प्रतिवेदन सभा समक्ष पेश गरेका हुन् ।

बैठकमा सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट “संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७८” खारेजसम्बन्धी प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

राष्ट्रियसभाको अर्को बैठक यही साउन ८ गते दिउँसो १ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *