July 26, 2021

जसपा विवाद:चौधरीले हस्ताक्षर जेलबाटै सनाखत गर्ने

जनता समाजवादी पार्टी(जसपा)को केन्द्रीय कार्यकारिणी सदस्य रेमश चौधरीको हस्ताक्षर जेलबाटै सनाखत हुने भएको छ।

सोमबार जसपा पार्टीभित्र देखिएको आन्तरिक विवाद हल गर्न पार्टीका दुबै पक्ष निर्वाचन आयोग गएका छन्। अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसहित केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूलाई आयोगले बोलाएको हो। ‍ प्रतिनिधि सभाका निलम्बित सांसद तथा जसपा कार्यकारणी सदस्य चौधरी डिल्लीबजार कारागारमा छन्।

उनको हस्ताक्षर जेलबाटै सनाखत गराउने तयारी भएको जेलर बसन्त पुरीले जानकारी दिए।

‘अहिलेसम्म यतै सनाखत गराउने भन्ने छ। त्यही पत्र आएको छ,’ उनले भने,’निर्वाचन आयोग जाने भन्ने तत्काल त्यस्तो कुनै जानकारी छैन। आयोगले सनाखत गराउन मान्छे पठाउला।’

जसपामा ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति छ।

अध्यक्ष यादवले आफू पक्षमा बहुमत केन्द्रीय कार्यकारिणी समिति सदस्य भएकोले जसपा आफूहरूको भएको दाबी गरिरहेका छन्। ठाकुर पक्षले पनि जसपा आफूहरूको हुनुपर्ने बताइरहेको छ।

दुबै पक्षले दाबी गरेपछि जसपा आधिकारिकतामा विवाद छ।

पार्टी आधिकारिकताबारे विवाद भएपछि सुनुवाइ गरिरहेको निर्वाचन आयोगले साउन ११ का लागि केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई हस्ताक्षर सनाखतका लागि बोलाएको छ।

अध्यक्ष ठाकुरले आयोगले केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई बोलाएकोमा त्यसविरूद्ध सर्वोच्चमा रिट दिएका थिए। आइतबार सर्वोच्चले ठाकुरको मागबमोजिम अन्तरिम आदेश दिएन।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले ठाकुरको मागबमोजिम अन्तरिम आदेश नदिने निर्णय गरेको हो। आयोगले हस्ताक्षर सनाखत गर्ने भएपछि पार्टी कार्यकारिणी समितिमा ठाकुर पक्ष अल्पमतमा पर्ने देखिएको छ। आयोगमा जानुअगाडि अध्यक्षद्वय ठाकुर र यादव पक्षका नेताहरू बेग्लाबेग्लै छलफलमा रहेको स्रोतले जानकारी दियो। आयोगले जता बहुमत देखिन्छ त्यसलाई जसपा दिएर अर्को पक्षलाई पार्टीको नाम र चुनाव चिन्हसहित आउन समय दिन्छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको इजलासमा जसपा विवाद निरूपण गरिँदैछ। यसअघि आयोगले दुबै पक्षलाई छलफलमा पनि बोलाएको थियो।

आज केन्द्रीय कार्यकारिणी समिति सदस्य को ठाकुर र को यादवतिर भन्ने ‘हेडकाउन्ट’ आयोगले गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *