July 26, 2021

शैक्षिक सत्र सुरु भएको एक महिना बितिसक्दा पनि हुम्लामा विद्यार्थीले पाएनन् पाठ्यपुस्तक

कोरोना कहरले हुम्लामा सबैभन्दा बढी शिक्षा क्षेत्र थिलथिलो बनेको छ।

हिमाली जिल्ला भएकाले हरेक वर्षको फागुन २ गतेदेखि शुरु हुने हुम्लाको नयाँ शैक्षिक सत्र कोरोना कहरका कारण गत असार १ गतेबाट मात्रै शुरु भयो। नयाँ शैक्षिक सत्र शुरु भएको महिना दिन बितिसक्दा विद्यालय खुल्न सकेका छैनन् नै, विद्यार्थीका हातमा पाठ्यपुस्तकसमेत पुगेको छैन।

कोरोना सङ्क्रमण फैलने डरले निषेधाज्ञामा घरमै सीमित भएका विद्यार्थीले शैक्षिक सत्र शुरु भएको महिना दिन बितिसक्दा पनि पाठ्यपुस्तक नपाउँदा विद्यार्थीको पठनपाठनमा समस्या भएको छ।

अठार वटा निजी प्रकाशन गृहले हुम्लामा दिँदै आएको पाठ्यपुस्तकको ढुवानी रकम घटाएपछि जिल्लामा पाठ्यपुस्तक आउन नसकेको हो। प्रकाशन गृहले पाठ्यपुस्तक ढुवानीमा दिँदै आएको ९० प्रतिशत रकमलाई घटाएर ३० प्रतिशतमा झारेको छ। ढुवानी रकम घटेपछि कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक उठाउन नसकिएको रोकाया पुस्तक पसलका ज्ञानबहादुर रोकायाले बताए।

‘कक्षा ५ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक नेपालगञ्जसम्म आइपुगेको छ तर ढुवानीका कारणले रोकिएको छ,’ उनले भने।उनले अबको एक दुईदिनमा समन्वय गरेर जिल्लामा ल्याउने बताए।

उनले सिमकोट, नाम्खा र खार्पुनाथ गाउँपालिकाका लागि पाठ्यपुस्तक लैजाने जिम्मा लिएका छन्। यी तीनवटा गाउँपालिकामा ५८ वटा विद्यालय रहेका छन्। त्यहाँका लागि हवाईमार्गबाट ढुवानी भएर पाठ्यपुस्तक जिल्लामा पुग्ने गर्दछ।

खार्पुनाथ गाउँपालिकामा भने कोरोना सङ्क्रमणको डरका कारण विद्यालय सञ्चालन गर्न नसके पनि विद्यार्थीको हातहातमा पाठ्यपुस्तक उपलब्ध गराउन पुस्तक एजेन्ट र सम्बन्धित निकायलाई ताकेता गर्ने गाउँपालिकाका अध्यक्ष कर्ण रावलले जानकारी दिए।

जिल्लाका कुनै पनि विद्यालयमा पाठ्यपुस्तक पुग्न नसकेको गुनासो आउन थालेको छ।

बालमन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा मनिषा रावतले लामो समय कोरोना सङ्क्रमणका कारण विद्यालय बन्द हुँदा आफूहरुको पठनपाठनमा निकै घाटा भएको गुनासो गरिन्।

विद्यालय सञ्चालन नभए पनि पाठ्यपुस्तक समयमै ल्याइदिएको भए घरमै बसेर अध्ययन गर्न सकिने उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *