August 18, 2021

दल विभाजनसम्बन्धी अध्यादेश जारी भएकै दिन फुटे एमाले र जसपा

काठमाडौं । २० प्रतिशत सांसद पुर्याउन सके सांसदको हिस्सासहित दल विभाजन गर्न पाइने अध्यादेशको असर पहिलो दिनबाटै देखिन थालेको छ । 

अध्यादेश जारी भएकै दिन संसद्को सबैभन्दा ठूलो दल एमाले विभाजित भएको छ । नेता माधव नेपालले आफ्नै नेतृत्वमा नेकपा एमाले (समाजवादी) दल दर्ता गराएका छन् । नेपाल पक्षले खुला किताब चुनाव चिन्ह रोजेका थिए । तर, चुनाव चिन्हका विषयमा टुंगिन बाँकी छ ।

नेपाल पक्षले आफूहरुतिर ३१ सांसद रहेको दाबी गरेको छ । उनीहरुले ९५ केन्द्रीय समिति रहने गरी दल दर्ता गराएका छन् । १२१ सांसद रहेको एमालेमा नेपाल पक्षले २५ जना सांसद पुर्याउन सके सांसदसहितको हिस्सा पाउँनेछन् । 

तर, पार्टी फुटाउने गरी अघि बढे पनि नेता नेपाललाई सिनियर प्रभावशाली नेताहरुले साथ दिएका छैनन् । यस अघि नेपाल पक्षमा रहेका प्रभावशाली नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराईको साथ विना नै नेपालले पार्टी दर्ता गराएका हुन् ।   

त्यस्तै, जनता समाजवादी पार्टी (जसपा) पनि फुटेको छ । उपेन्द्र यादव पक्षसँग असहमति भएपछि महन्थ ठाकुरले जसपा (लोकतान्त्रिक) दल दर्ता गराएका हुन् । 

ठाकुरले आफ्नै नेतृत्वमा दल दर्ता गराएका हुन् । जसपा लोकतान्त्रिक पार्टीले साइकल चुनाव चिन्ह रोजेको छ । ठाकुर पक्षले उपेन्द्र यादवको भन्दा बलियो र ठूलो पार्टी गठन गर्ने जनाएको छ । 

जसपाका ठाकुर पक्षले दर्ता गराएको पार्टीमा राजेन्द्र महतोसहितका नेताहरूको साथ छ । ३२ मध्ये ठाकुर पक्षमा १४ जनासम्म सांसद रहेको बताइन्छ । 

सरकारको सिफारिसमा बुधबार मात्रै राष्ट्रपतिले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *