January 25, 2022

घोडाघोडीमा पक्किपुलको सिलन्यास तथा नवनिर्मित पुलको अनुगमन

चाँदनी आचार्य
सुखड,२८ मंसिर । कैलालीको घोडाघोडी नगरपालिकामा मंगलबार पक्कि पुलको सिलन्यास गरिएको छ । वडा नम्बर ४ अन्र्तगत सिमथरी स्थित कौवा खोलामा सुदूरपश्चिम प्रदेश सभा सदस्य अमर बहादुर साउदले मंगलबार पुलको सिलन्यास गरेका हुन् । सामान्य काठेपुलबाट जोखिम मोल्दै वारपार गर्ने स्थानीयबासी पक्किपुल बन्ने भएपछि खुशी भएकाछन् । खोलापारी कौवा गाउँका चक्र कडायतले पक्किपुल बन्न थालेकोमा आफूलाई खुशी लागेको बताउनुभयो । बर्षातको समयमा काठको पुलनै बगाउने र आवतजावतमै कष्ट भोग्दै आएको बताउने कडायतले निर्माण व्यवसायीले समयमै पुल निर्माणको कार्य सम्पन्न नगर्दा सम्म आफूहरु ढुक्क नहुने बताउनुभयो ।
कतिपय ठेकेदारका कारण बर्षौ वित्दापनि निर्माणको काम सम्पन्न हुन नसेको बताउदै उनले पक्किपुलको काम सम्झौता अवधिमै सम्पन्न गर्नुपर्ने बताउनुभयो । सिलन्यास कार्यक्रममा घोडाघोडी नगरपालिकाका उपप्रमुख प्रेमकुमारी थापा, वडा नम्बर ४ का वडा अध्यक्ष टेकबहादुर बुढा, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर सिंह, प्राविधिक ,निर्माण व्यवसायी बीरबहादुर साउद लगायतको उपस्थिति रहेको थियो ।
प्रदेश सरकार र नगरपालिकाको अनुदान सहयोगमा निर्माण हुने उक्त पक्किपुलको निर्माण ठेक्काको जिम्मा चन्द्रविकास चाँदनी जेवि निर्माण कम्पनि धनगढीले पाएको छ ।
असार २५ गते सम्झौता भएको उक्त पुलको निर्माण कार्य दुईबर्षमा सम्पन्न गर्नुपर्ने समयअवधि रहेको जनाइएको छ । घोडाघोडी नगरपालिकाका प्राविधिक शाखाका प्रमुख सन्तोष चन्दले एक करोड ९७ लाख २५ हजार ६५२ स्टिमेट रकम रहेकोमा टेण्डर प्रकृयाबाट एक करोड ३७ लाख ४८ हजार २८३ रुपैयाँमा ठेक्का सम्झौता भएको जानकारी दिनुभयो ।
निर्माण हुने पक्किपुल २५ मिटर लम्बाई पाँच मिटर चौडाई रहने जनाइएको छ । पक्किपुल निर्माण संगै कौवा गाँउका ६० घरधुरी प्रत्यक्ष लाभान्वित हुने बताइएको छ ।

मैतुवा भालुफाँटा जोड्ने नवनिर्मित पक्किपुल


त्यसैगरी मंगलबारनै वडा नम्बर ४ मैतुवा भालुफाँटा जोड्ने नवनिर्मित पक्किपुलको अनुगमन गरिएको छ । प्रदेश सभा सदस्य साउँद , उपप्रमुख थापा, प्रमुख प्रशासकिय अधिकृत सिंह, प्राविधिकहरुको संयुक्त टोलीले पुलको अवलोकन गरेको हो । अनुगमन पछि निर्माण कार्य सम्पन्न भएको पुलको वरपर केहि अधुरो काम देखिएकोले उक्त कार्य पुरागर्न निर्माण कम्पनिलाई आदेश दिने अनुगमन पछि बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *