January 25, 2022

प्रदेश संरचना हटाउनुपर्ने पक्षमा नेकपा (माले) रहेकाे महासचिव मैनालीकाे भनाई

कैलाली , १७ पुष । पूर्व उपप्रधानमन्त्री तथा नेकपा (माले) का महासचिव सिपी मैनालीले स्थानीय तह र जिल्लालाई अधिकार सम्पन्न बनाएर प्रदेश संरचना हटाउनुपर्ने पक्षमा नेकपा (माले) उभिएको बताएका छन् ।
कैलालीको घोडाघोडी नगरपालिका २ साडेपानिमा सनिबार उनले पत्रकार भेटघाट कार्यक्रममा अहिलेको संसदीय प्रणाली असफल भएको निष्कर्ष निकाल्दै प्रत्यक्ष निर्वाचित कार्यकारीको लाइनसमेत ८ औँ महाधिवेशनले पारित गरेको बताएका हुन् ।

महासचिव मैनालीले भने “अहिलेको बेलायती मोडलको संसदीय व्यवस्थाले देशको दिगो विकास हुन नसक्ने देखियो, यसका थुप्रै विकृति देखिएको र यसलाई छाडेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा जान सबै दलहरूसँग लबिङ गर्ने गरी निर्णय पाटिले गरेकाे छ” ।

संसदीय व्यवस्था असफल भइसकेकाले प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था लागू गर्न र प्रगतिशील लोकतान्त्रिक वैकल्पिक शक्ति निर्माण गर्न मालेले नेतृत्व गर्ने उनले दाबी गरे ।
कार्यकर्ता भेटघाट तथा ८ औँ महाधिवेशनले गरेका महत्त्वपूर्ण निर्यणहरुकाे जानकारी गराउन सुदूरपश्चिम अाएका मैनालीले एमसीसी देशको हितमा नभएको बताएका छन् । एमसीसी नेपालले सदनबाट पारित गरेमा नेपालले अमेरिकाको उपनिवेश बन्ने ठोकुवा गरेका हुन्।

पत्रकार भेटघाट कार्यक्रममा उनले एमसीसी सम्झौता मुलुकको हितमा नरहेको भन्दै एमसीसी पारित भए मुलुक झन् ठुलो सङ्कटमा पर्ने बताए । उनले एक पटक संसदबाट पारित भएपछि फर्काउन सक्ने अवस्था नरहेको भन्दै एमसीसीलाई अघि बढाउन नहुने बताए ।

मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेताहरूलाई समेत आर्थिक प्रलोभनमा पारेर नेपालमा एमसीसी लागु गराउने खेल भइरहेको उनले आरोप लगाए । महासचिव मैनालीले नेपालको पञ्चायत काल देखिको लामो राजनीतिक घटनाक्रमलाई स्मरण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *