July 6, 2022

नेपालीहरूले डलरमा खेल्न थाले ढुकुटी


नेपालीहरूले डलरमा खेल्न थाले ढुकुटी

‘हाइपर फण्ड’ लगायतका अनलाइन ‘नेटवर्किङ’ मार्फत पिरामिड शैलीको चेन बनाउने धन्दामा नेपालीहरु सामेल हुने क्रम बढेको छ । त्यसमा पनि कमाउन विदेश गएका नेपाली युवा यो काममा लाग्नुले उसको घरपरिवारदेखि मुलुकको अर्थ व्यवस्थासम्ममा नयाँ चुनौती थपेको।

१७ माघ, काठमाडौं । दाङका २८ वर्षीय सुमन क्षेत्री (नाम परिवर्तन) लाई कतार बस्ने साथीले एकवर्ष अघि ‘हाइपर फण्ड’ अनलाइन नेटवर्किङबारे बताए । डिजिटल प्लेटर्फममा नेपालमै बसेर काम गर्न सकिने, डलरमा मनग्य कमाई हुने भन्ने सुनेपछि क्षेत्री पनि लोभिए ।
अमेरिका बस्ने दाजुसँग एक हजार डलर सापट मागे र त्यो रकम कतार बस्ने साथीले भनेको ठेगानामा पठाउन आग्रह गरे । भाइको आग्रहलाई दाजुले अमेरिकाबाट स्वीकार गरे र हजार डलर भाइको साथीले भनेकै मुलुक कतारमा पुग्ने गरी पठाए । ‘साथीले भनेको दुई सातामा म ‘हाइपर फण्ड’ मा जोडिएँ,’ क्षेत्रीले अनलाइनखबरसँग भने । एक वर्षमा क्षेत्रीले ‘हाइपर फण्ड’मा आफू, श्रीमती र छोरीको नाममा तीन वटा एकाउण्ट खोलेका छन् ।
तीन वटा एकाउण्टमा गरी तीन हजार डलर लगानी गरेको र पाँच सय डलर नाफामा रहेको दाबी क्षेत्रीको छ । ‘एक हजार लगानी दाइले गरिदिनु भयो, दुई हजार डलर मैले यतै मिलाए’ क्षेत्रीले भने, ‘यो त घाँस नहाली दुहुन पाईने लैनो गाई रहेछ, अहिले हाम्रो पारिवारिक नाताका मात्रै ८ जना यसमा जोडिएका छौं, लाखौं कमाई हुँदैछ । नेपालमा लाखौं मानिस यो काम गर्छन् ।’दुबईमा रहेका मामाको छोराको सल्लाहपछि नुवाकोटका ४२ बर्षीय जीतु खनाल (नाम परिवर्तन) एक वर्षदेखि ‘हाइपर फण्ड’मा जोडिएका छन् । पेशाले शिक्षक र गाउँमा किराना पसल समेत गर्ने उनलाई ‘हाइपर फण्ड’को ‘कम्पाउण्डिङ’ को रुपमा लगानी गर्न भाइले सिकाएका हुन् । उनले यो शिर्षकमा १० हजार डलर (नेपाली रुपैयाँ ११ लाख ९९ हजार भन्दा धेरै) लगानी गरेका छन् ।
‘हाइपर फण्ड’को यो ‘सेग्मेन्ट’ अन्तर्गत झण्डै १२ लाख नेपाली रुपैयाँ लगानी गर्दा २० महिनामा ४ करोड नेपाली रुपैयाँ फिर्ता पाइन्छ,’ खनाल दाबी गर्छन्, ‘दुई वर्ष नपुग्दै करोडपति !’
‘हाइपर फण्ड’मा सामान्य लानीकर्ताको रुपमा लगानी गर्दा लगानी गरेको ६ महिना ६ दिनमा लगानी उठ्ने र बाँकी समय नाफामा जाने खनाल जस्ता लगानीकर्ताहरुको दाबी छ ।

‘कम्पाउण्डिङ’ भनिने विशेष लगानीमा त झनै आकर्षक नाफा रहेको उनीहरुको दाबी छ ।
दाङका सुमन र नुवकोटका जीतु उदाहरण मात्रै हुन । पछिल्लो एक वर्षमा नेपालमै भएका र नेपालबाहिर रहेका थुप्रै नेपाली यो नेटवर्कमा जोडिएको यसमा संलग्नहरु बताउँछन् । ‘हाइपर फण्ड’ मा विभिन्न प्रकारको लगानी गर्न पाइने आकर्षक प्रावधान रहेको यसमा संलग्नहरुको दाबी छ । तर, नेपालीहरु चाहिँ सामान्य लगानीकर्ता र ‘कम्पाउण्डिङ’ अर्थात विशेष खालको गरी दुई प्रकारको लगानीमा बढी संलग्न देखिन्छन् ।

अनलाइनखबरलाई प्राप्त विवरणअनुसार, सामान्य लगानीकर्ताले एक हजार अमेरिकी डलरबाट लगानी शुरु गर्न सक्छन् । एक हजार डलर लगानी गर्दा ‘हाइपर फण्ड’ ले त्यसलाई तीन गुणा मानेर प्रतिफल तीन हजार डलर दिने क्षेत्रीको भनाइ छ । प्रतिदिन ०.५ प्रतिशतका दरले डलरमा प्रतिफल फिर्ता गर्ने र यस्तो प्रतिफल ५० डलर पुगेपछि झिक्न पाइने उनको भनाइ छ । ‘प्रतिफल झिक्न पनि पाइन्छ, नझिकी त्यसलाई ‘रिबाई’ (पुनः बिक्री) गरियो भने त्यसको भ्यालु दुई गुणा अर्थात एक सय डलर हुन्छ,’ क्षत्रीको दाबी छ ।

पिरामिड शैलीको यो ब्यापार कसरी चल्छ त ? क्षेत्रीले यसको रहस्य खोल्दै भने, ‘अझ खाता वालाले अर्को नयाँ खाता खोल्न वा यो नेटवर्कमा पिरामिड शैलीमा नयाँ मान्छे छिराउन रिकमेन्ट गर्‍यो भने एक डलर थप कमिसन आउँछ ।’

पिरामिड शैलीको यो गैरकानुनी धन्दामा मानिसहरु कसरी लागेका छन् भन्ने नुवाकोटका जितु खनालको उदाहरणबाटै स्पष्ट हुन्छ । १२ लाख लगानी गरेर ४ करोड कमाउन जितुले ‘हाइपर फण्ड’ को ‘कम्पाउण्डिङ’ मा लगानी गरेको एक वर्ष भयो । अबको ८ महिनापछि ४ लाख डलर अर्थात ४ करोड रुपैयाँ आउने आशामा उनी छन् । उनका अनुसार ‘हाइपर फण्ड’ को ‘कम्पाउण्डिङ’ मा २० महिनासम्म लगानीको प्रतिफल झिक्न नपाइने प्रावधान छ । ‘हरेक दिनको ०.५ प्रतिशत पनि २० महिनासम्म यही ‘रिबाई’ भएर बस्छ, २० महिनामा एकमुष्ट ४ करोड रुपैयाँ हुन्छ,’ खनालले भने ।

‘हाइपर फण्ड’ कारोबारमा संलग्न नेपालीहरुको एउटा म्यासेन्जर ग्रुपमा पठाइएको सूचना अनुसार ३०० डलर लगानी गरे १३ लाख, ५०० सय लगानी गरे २२ लाख, एक हजार लगानी गरे ४५ लाख, २ हजार लगानी गरे ९३ लाख र १० हजार डलर लगानी गरे २० महिनामा ४ करोड रुपैयाँ नेपाली पाइने प्रचार गरिएको छ ।

तर प्रचार गरिए जसरी प्रतिफल पाउने ग्यारेन्टी देखिँदैन । किनकी हाइपर फण्डका प्रमुखहरुले अहिलेसम्म बिटक्वाइन, क्रिप्टो लगायतका डिजिटल करेन्सीमा लगानी गर्ने गरेका छन् । अहिले उनीहरुले हाइपर फण्डका नाममा जति पनि पैसा जम्मा गरेका छन्, त्यो पनि यही डिजिटल करेन्सीमै लगानी गर्ने हो ।

डिजिटल करेन्सी नेपालमा अवैधानिक हो । साथै अरु देशमा पनि डिजिटल करेन्सीमाथि प्रश्न उठेको छ र भोलिका दिनमा यो आफैं संकटमा परेको अवस्थामा हाइपर फण्डमा लगानी गरे वापत दिने भनिएको प्रतिफल कसरी देला ? ठगी गरेको अवस्थामा उजुरी गर्ने अवस्था पनि नहुने भएकाले लगानी जोखिमपूर्ण भएको जानकारहरु बताउँछन् । नेपाल राष्ट्र बैंकले पनि यस्ता लगानीहरु अवैध र प्रलोभन मात्रै भएको भन्दै प्रलोभनमा नपर्न सर्वसाधरणलाई आग्रह गरेको छ ।

कैलालीका खड्का र ‘हाइपर फण्ड’को कनेक्सन

११ माघ २०७८ मा अमेरिकी डलर ३१ लाख बढी अपचलन मुद्धा दायर भएका कैलालीका दिनेश खड्का र उनको परिवारका सदस्य विरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा अहिले विचाराधीन छ । एक महिना लामो अनुसन्धान गरेर राजश्व अनुसन्धान विभागले दायर गरेको मुद्दामा गैरकानुनी रुपमा भर्चुल माध्यमबाट डलरको कारोबार गरेको आरोप लगाइएको छ ।
खड्का स्वयम्, उनको बुबा, दिदी र साथीको खातामा करिब ३ महिनाको अवधिमा ३७ करोड ६४ लाख ११ हजार १०० सय नेपाली रुपैयाँ जम्मा भएको भेटिएको थियो । राजश्व अनुसन्धान स्रोतका अनुसार त्यो रकम डलरको रुपमा भुक्तानी गरेको खड्काले बयानमा भनेका छन् ।

‘उनले अनलाइन बेटिङ एपहरुमा लगानी गर्ने नेपालीलाई डलर उपलब्ध गराउन खाता भाडामा दिएको बयान दिएका छन्,’ विभाग स्रोतले भन्यो, ‘अर्कोतर्फ १० लाख हाराहारी नेपाली यस्तो कार्यमा संलग्न भएको उनको बयानले त त्यो ‘हाईपरभर्स’ वा जेजेमा पनि हुनसक्छ भन्ने देखाउँछ ।’ रेमिट्यान्सको रुपमा वैधानिक च्यानलबाट नेपाल भित्रिनुपर्ने रकम बाह्य मुलुकबाटै यस्तो नेटवर्किङमा लगानी हुने र यता हुण्डी जस्ता माध्यमबाट तिर्ने काम भइरहेको हुनसक्ने विभागको अनुमान छ ।

दिनेशले बयानमा भने अनुसार रकम भुक्तानीका लागि प्रयोग भएको भनिएको ई स्क्रील र बिन्यासमार्फत ‘हाइपरभर्स’ को पनि सजिलो भुक्तानी माध्यम भएको यसमा संलग्नहरु बताउँछन् । वैधानिक ढंगले नेपालको रेमिट्यान्स प्रणालीमा आउनुपर्ने रकम अहिले ‘हाइपरभर्स’ र क्रिप्टोमा लगानी भइरहेको आशंका नेपाल राष्ट्र बैंकको विज्ञप्तिहरुबाट पनि पुष्टि हुन्छ ।

चालु आवको ५ महिनामा विप्रेषण आप्रवाह ६.८ प्रतिशतले कमी आई ३ खर्ब ८८ अर्ब ५८ करोडमा सीमित भएको केन्द्रीय बैंकले जनाएको छ । गतवर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.० प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले कमी आई ३ अर्ब २६ करोड पुगेको छ ।

केही दिन अघि सूचना जारी गर्दै राष्ट्र बैंकले भर्चुअल करेन्सी, हाइपर फण्ड, क्रिप्टो जस्ता क्षेत्रमा लगानी नगर्न भनेको थियो । यस्ता कारोबारले नेपालमा कानुनी मान्यता नपाएको भन्दै बैंकले स्वदेश तथा विदेश तथा विदेशमा बस्ने नेपाली यस्तो कार्यमा लागे कडा कारबाही गर्ने चेतावनी दिएको थियो । यस्तो सूचना किन जारी गरिएको भन्ने अनलाइनखबरको जिज्ञासामा केन्द्रीय बैंकका प्रवक्ता डा. गुणाकर भण्ट्टले अनलाइन सट्टेबाजी, नेटवर्किङ तथा भर्चुअल अवैध कारोबार नेपालमा भइरहेको अनौपचारिक गुनासोहरु आएपछि सचेत गराइएको बताए ।

‘स्वदेश तथा विदेशमा बस्ने नेपालीहरु यस्तो कार्यमा लागेको सूचना आएको छ, यसले हाम्रो जस्तो मुलुकको अर्थव्यवस्थामाथी नै चुनौती थप्छ,’ प्रवक्ता भट्ट थप्छन्, ‘हामीलाई आजसम्म घटनामा आधारित भएर कुुनै पीडित आएर ठगिएको भनेका छैनन्, तर फोन र सूचनाहरु प्रशस्तै आएका छन् ।’

राष्ट्र बैंकको सूचना पत्र

यस्तो कारोबारमा संलग्नहरुका अनुसार हाइपर फण्डमा गरिएको लगानी पछिल्लो समय क्रिप्टो खरिदतर्फ प्रयोग गरिएको आशंका छ । ‘हाइपर फण्ड’ मा गरिने तथा यसबाट फिर्ता हुने डलरको कारोबारका लागि ‘बाइनान्स’ नामक एप नेपालीहरुले धेरै प्रयोग गरिरहेका छन् । ‘हाईपरभर्स’ खातामा रहेको लगानीको प्रतिफल ‘ओके एक्स’ नामक एपमार्फत ‘बाइनान्स एप’ मा सारिने र त्यहाँ डलरको बिक्री गर्ने वा खातामा सार्ने काम हुने यो कार्यमा संलग्नहरु दाबी गर्छन् ।

डलर भुक्तानी ‘प्लेटफर्म’ को रुपमा परिचित ‘बाइनान्स एप’ बाट सबै खाले क्रिप्टो करेन्सीको खरिद बिक्री हुनुका साथै महँगोमा डलर बिक्री गर्न सकिने एक कारोबारीको दाबी छ । राजश्वले डलर अपचलनमा मुद्धा दायर गरेको खड्काले पनि ‘बाइनान्स एप’ मार्फत डलर सटहीको काम गरेको बयान दिएका छन् । राष्ट्र बैंकले भने यस्तो कार्यलाई विदेशी विनिमय अपचलनको कसुर भनेको छ ।

गहिरो अनुसन्धानको खाँचो

पुस ११ गते पक्राउ परेका कैलालीका दिनेश खड्का नेपालमा अवैधानिक भर्चुअल कारोबारको सानो माछा मात्रै भएको राजश्व अनुसन्धान विभागले जनाएको छ ।

उच्चस्तरीय प्रविधिको प्रयोग गरी अवैध भर्चुअल करेन्सीको कारोबार मौलाएको छ भन्ने प्रमाणित गर्न विभागले चलाएको अप्रेसन सफल भएको विभागका महानिर्देशक प्रकाश पौडेलले बताए ।

‘यो क्षेत्रमा विकृति छ भन्ने हामीले उजागर गरिदिएका छौं, बाँकी खोज अनुसन्धान गर्न अन्य निकाय पनि सक्षम छन्,’ पौडेलले भने । तीन महिनाअघि ‘भर्चुअल’ कारोबारमा छिरेको युवकको परिवारले ३७ करोडको कारोबार गर्छ भने केही वर्षदेखि लाग्नेले के के गरिरहेका छन् भन्नेमा अनुसन्धान जरुरी भएको महानिर्देशक पौडेलको भनाइ छ ।

खड्काबाट प्राप्त थप प्रमाणबाट यस्तो जालोको भित्रसम्म पुग्न विभागले थप अनुसन्धान गरिरहेको उनको भनाइ छ । प्रक्रिया र खेल जुनसुकै भएपनि मुद्रासँग जोडिएका कारण यसलाई नियमन गर्न केन्द्रीय बैंकदेखि सबै सरोकारवाला निकाय स्पष्ट भएर अघि बढ्नुपर्ने पौडेल बताउँछन् ।

केहीदिन अघि नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी, हाइपर फण्ड, क्रिप्टो जस्ता क्षेत्रमा लगानी नर्गन आग्रह गरेपछि वैदेशिक रोजगारीमा खाडीमा रहेका एक नेपाली युवकले राष्ट्र बैंकको उक्त सूचनालाई हावादारी भन्दै फेसबुकमा टीप्पणी गरेका थिए ।

गलत कारोबारमा नलाग्न केन्द्रीय बैंकले गरेको आग्रहमा यस्तो टीप्पणी किन भन्ने अनलाइनखबरको प्रश्नमा ती युवकले पछिल्लो समय भर्चुअल मनिका लागि भइरहेको कारोबार नेपाल सरकारको पहुँच र क्षमता भन्दा माथी रहेको दाबी गरे । ‘क्रिप्टो, अनलाइनबेटिङ, हाइपर फण्डमा भएको लगानी सरकारको कुनै प्रणालीबाट पनि नियमनको दायारमा आउन सक्दैन, यसलाई व्यवस्थित गरे मुलुकलाई घाटा पनि छैन,’ ती कारोबारीले दाबी गर्दै थपे, ‘सरकारले रोजगारी र अवसर पनि नदिने, युवाले आफ्नो उच्च प्रविधिको क्षमताले गरेको आम्दानी पनि भाँड्न पाइन्न ।’ ती लगानीकर्ताको दाबीलाई दाङका क्षेत्रीको कामले थप पुष्टि गर्छ । क्षेत्रीका अनुसार यो कार्यमा संलग्न हुन प्रयोग हुने मोबाइल एप्लिकेशनहरुको सुरक्षा र प्रयोग सामान्य मान्छे र प्रणालीको बुुझाई भन्दा जटिल छ ।

हल्ला र फोनको गुनासा आएपनि यस्तो कार्यमा कुुनै ट्र्याकिङ भने नगरिएको राष्ट्र बैंकले जनाएको छ । त्यसो त यस्तो कारोबारबारे पत्रिकामा पढेको, तर खासै धेरै जानकारी नभएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । ‘अनलाइन बाजी खेलाउने, जुवा खेलाउने जस्ता कार्यमा संलग्नहरु त हामीले केही अघि पक्राउ गरेका थियौं, रियल फेजमा यस्तो कार्यबारे कुनै गुनासो छैन,’ परिसरका प्रवक्ता एवम् प्रहरी उपरिक्षक दिनेशराज मैनालीले भने ।

भित्रभित्रै अर्थतन्त्रलाई धक्का

डलरमा लगानी गरेर करौडौं कमाउने र छिट्टै धनी हुने सपना बोकेर पछिल्लो समय स्वदेश तथा विदेशमा रहेका नेपालीहरु ‘भर्चुअल नेटवर्किङ’ मा जोडिएका छन् । जसको असर विदेशबाट नेपाल भित्रिने रेमिट्यान्स घट्नेदेखि स्वदेशी मुद्रा हुण्डी हुँदै पूँजी पलायनसम्मको घटना भईरहेको नेपाल राष्ट्र बैंककले जनाएको छ । यो नेटवर्किङमा जोडिँदा हुने भुक्तानीको प्रक्रियाले यसलाई थप प्रष्ट्याउँछ । दाङका क्षेत्रीले हाइपरभर्समा गरेको आफ्नो खाताको पहिलो लगानी दाइमार्फत अमेरिकाबाट भुक्तानी गराएका थिए । त्यस बाहेकको थप खाताहरुमा उनले स्वदेशी हुण्डीवालाहरुलाई पैसा बुझाएको बताए ।

नेपालमा रहेको आफन्तलाई नेपाली पैसा दिएको र सोबापतको डलर विदेशबाट ‘हाइपर फण्ड’ मा हालेको उनको भनाइ छ । ‘आफ्नो बाहेक श्रीमती र छोरीको खाताका लागि दुई हजार अमेरिकी डलर बराबरको नेपाली रुपैयाँ स्याङ्जाका एकजना दाइलाई बुझाए, त्यसको बेलुकी ‘हाइपर फण्ड’ मा मेरो डलर पुग्यो,’ उनले भने ।

नुवाकोटका जीतुले पनि हुण्डीमार्फत १२ लाख रुपैयाँ लगानी गरेको बताए । ‘मलाई यो सबै सिकाउने मान्छेले नेपालमा आफन्तको खातामा नेपाली पैसा हाल्दिनु विदेशमा म तिरिदिन्छु भन्यो । मैले अलि महँगोमा १० हजार डलर किने,’ जीतुले भने । ‘हाइपर फण्ड’ मा लगानी गर्ने सबैले यसै गरी पैसाको कारोबार गर्ने उनको भनाइ छ ।

कमाउन गएका नेपाली युवाहरु यो धन्दामा लाग्नुले उसको घरपरिवारदेखि समग्र मुलुकको अर्थ व्यवस्थामा नै चुनौती थपेको राष्ट्र बैंकका निर्देशक एवम् प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् । ‘स्वदेशमा आएर उत्पादनमा लगाउनुपर्ने तथा यहाँ पनि उत्पादनमै हुनुपर्ने लगानी सट्टेबाजीमा हुनु जोखिमको कुरा हो, यसले दीर्घकालमा असर गर्छ,’ डा. भट्टले भने ।

विगत र वर्तमानका अभ्यासहरुले मुलुक नै सट्टेबाजीमा रहेको देखिने अर्थशास्त्री नरबहादुर थापा बताउँछन् । यो सबै हुनुमा हाम्रो प्रणाली निर्माण गर्ने संस्था पनि जिम्मेवार रहेको उनी बताउँछन् । नेपाल राष्ट्र बैंकको वित्तीय अनुसन्धानमा लामो काम गरेका उनी नेपाली युवाहरुको पछिल्लो भर्चुअल कारोबारको धन्दालाई विकसित रुपको ढुकुटी मान्छन् ।

‘नेपालमा हुँदा टोल टोलमा, समूह समूहमा ढुकुटी खेल्थे, अहिले उनीहरुलाई डलरको पहुँच भयो, डलरमा खेल्न थाले,’ थापा भन्छन् ‘उत्पादन र श्रम गर्न भन्दा पनि छिटो धनी बन्न प्रेरित भएका युवाबाट हुने यस्तै हो ।’ मेहनत, श्रम र उद्योग गर्न भन्दा पनि सट्टापट्टामा मुलुक गएको र यसबारे स्वतन्त्र अध्ययन अनुसन्धान पनि नहुने र भएका अध्ययन अनुसन्धानको गंभिर समीक्षा र कार्यन्वनयन पनि नभएको उनको बुझाइ छ । पछिल्लो समय नेपालीको लगानी सेयर, घरजग्गामा बढी हुनुु यस्तै धन्दाको अर्को रुप भएको थापा बताउँछन् ।

मुलुकको अर्थतन्त्र नै यस्तो अवस्थातर्फ जान वाणिज्य बैकवालाहरुको बोलवाला हुनु, बैक तथा वित्तीय संस्थाको विविधिकरण मासिनु, मर्जरको नाममा पुँजी विकास भन्दा पनि पैसामा खेल्ने बैकहरु स्थापित हुनु, उद्यमी गर्ने बैंक नटिक्नु दुःखद् संकेत भएको उनको टिप्पणी छ ।

‘उद्योग र उत्पादनको जग नभए पछि मुलुक रेमिट्यान्समा आधारित भयो । देशका सक्रिय जनसंख्या मुलुकको उत्पादनमा नजोडिनुले उपभोग र आयातमा जोड गर्ने रेमिटान्समा आधारित अर्थतन्त्रको निर्माण भयो । हामीले यसलाई बदलेनौ भने जोखिम अझै बढ्छ,’ थापा भन्छन्, ‘राज्यले अर्थतन्त्रको आमुल रुपान्तरण गर्न काम गर्नुपर्छ । यहाँ उत्पादन बढाउन लगानी भित्र्याउनु पर्छ ।’ यो समाचार अनलाइन खबर बाट साभार लिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *