May 25, 2022

घोडाघोडीमा बृक्षारोपण गरी सिमसार दिवस मनाइयो

चाँदनी आचार्य
कैलालीको घोडाघोडी ताल क्षेत्रमा बुधबार विश्व सिमसार दिवसका अवसरमा अन्र्तकृया कार्यक्रम तथा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय पहलमानपुरको आयोजना तथा घोडाघोडी पर्यटन बोर्ड,घोडाघोडी संरक्षण तथा जनजागरण मञ्च र नेपाल पंक्षी संरक्षण संघको साझेदारीमा दिवसका अवसरमा कार्यक्रम गरिएको हो ।
‘दलदल, पानी, पोखरी र खोला, संरक्षण गरे सर्वहित होला’ भन्ने नाराका साथ यस बर्षको दिवस मनाइएको हो । दिवसका अवसरमा घोडाघोडी ताल वरपर असोक,धुपीसल्लो,रुद्राक्ष,स्वामी, जामुन लगायतका बोटहरु लगाइएको होे ।
घोडाघोडी ताल चराहरुको बासस्थानका लागि महत्वपूर्ण मानिन्छ । तालवरपर सामुदायिक वन भएपनि चराहरुकालागि फल दिने रुखहरु नभएकाले ताल वरपर फल दिने लगाउने कार्य सिमसार दिवसबाट शुरुवात भएको जनाइएको छ । डिभिजन वन प्रमुख गोकुल रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख ममता प्रसाद चौधरी ,सामुदायिक वनका पदाधिकारी तथा संरक्षण कमिहरुले वृक्षारोपण गरेका थिए ।


कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिकाका नगरप्रमुख ममता प्रसाद चौधरीले घोडाघोडीको जैविक विविधता जोगाउन सिमसार क्षेत्रको संरक्षण आवश्यक भएको बताए । उनले सिमसारक्षेत्रमा असर नपर्नेगरी बुद्धिमतापूर्वक संरक्षणसंगसंगै सिमसार क्षेत्रमा पर्यटन विकासका भैरहेको बताए ।
सिमसारको मुख्य स्रोत पानी भएकाले घोडाघोडी तालमा केहिबर्ष यता पानीको सतह घट्दै गएपछि जिर्ण अवस्थामा रहेको आउटलेट गेट हटाई संघीय सरकार र स्थानीय सरकारको संयुक्त लगानीमा गेट निर्माणको कार्य भैरहेको बताए ।
कार्यक्रममा घोडाघोडी पर्यटन बोर्डका निर्देशक दयाराम चौधरीले घोडाघोडी सिमसार क्षेत्र मानविय गतिविधिका कारण साँघुरिदै गएको बताए । उनले तालको अगाडी पानी देखिए पनि पछाडी जंगलतिरको भागमा तीसप्रतिसत तालको भाग मिचाह प्रजातीको वनस्पती बेसरम जलकुम्भीले ढाकेको बताए ।
सन् २०१३ मा घोडाघोडी ताल क्षेत्रमा बगाले सिमकुखुराले चल्ला कोरल्ने र हुर्काएको देखेपछि घोडाघोडीमा चराका विषयमा अध्ययन अनुसन्धान गरी चराका लागि महत्वपूर्ण क्षेत्र मानिदै आएको छ । पर्यटनबोर्ड र वनकार्यालयको सहयोगमा चराहरुलाई फल प्राप्तहुने जामुन,स्वामी लगायतका बोटविरुवा तालको चारैतिर रोपिने बताउँदै बोर्डका निर्देशक चौधरीले त्यसको रेखदेखको जिम्मा घोडाघोडी मञ्चलाई दिएको बताए ।

घोडाघोडी मुख्यताल सहित २४ ताल रहेको घोडाघोडी क्षेत्रमा ६ वटा ताल सुकेर चौरमा परिणत हुने अवस्थामा रहेको समेत निर्देशक चौधरीले बताए । चौधरीले भने ‘घोडाघोडी सिमसार क्षेत्र बाहिर देखिए जस्तो छैन भित्रभित्रै यसको क्षेत्र साँगुरिदै गएको छ, संकटमा पर्ने अवस्था नआउला भन्न सकिन्न, सबै संरक्षणमा जागरुक हुनुपर्छ ।’
डिभिजन वन प्रमुख गोकुल रिजालले सिमसार क्षेत्रको संरक्षणमा सरोकारवाला सबै एकजुट भएर लाग्नु पर्ने बताए । सामुदायिक वनक्षेत्रमा पर्ने घोडाघोडी ताल जैविक विविधताले महत्वपूर्ण रहेको बताउदै प्रमुख रिजालले सामुदायिक वनभित्रका तालहरुलाई समेत व्यवस्थित गर्नुपर्ने बताए ।
कार्यक्रममा घोडाघोडी मञ्चका अध्यक्ष हेम बहादुर बम्ले सिमसार क्षेत्रको महत्वका विषयमा मन्तब्य राखेका थिए । कार्यक्रममा विभिन्न सामुदायिक बनका पदाधिकारी, वन कर्मचारी, जनप्रतिनिधि ,संरक्षणकर्मि,सुरक्षाकर्मि, सञ्चारकर्मि लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *