Tuesday, September 26, 2023

कञ्चनपुरको महेन्द्रनगर विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ ।

गौचरनको रूपमा परिणत भएको कञ्चनपुरको महेन्द्रनगर विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ ।

विमानस्थलको विस्तार र क्षमता विकासका लागि संघीय, प्रदेश र स्थानीय सरकारका बीचमा साझेदारी सम्झौतामा हस्ताक्षर भएको हो । सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालको रोहवरमा विमानस्थल विस्तार तथा विकाससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

हस्ताक्षर कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभाका सदस्य प्रकाश रावल, भीमदत्त नगरपालिकाका प्रमख सुरेन्द्र विष्ट तथा दोधराचाँदनी नगरपालिकाका प्रतिनिधि वडा नं ७ का अध्यक्ष ज्ञानेन्द्र बहेकको उपस्थिति थियो ।  सम्झौतापत्रमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल तथा सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहाल, भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्करप्रसाद भट्ट र दोधराचाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले सम्झौतापत्रमा हस्ताक्षर गरी आदनप्रदान गरेका हुन् । 
    
पर्यटन मन्त्री ढकालले महेन्द्रनगर विमानस्थलको विस्तार र विकासमा तीन तहका सरकारको साझेदारी सबैका लागि खुशीको विषय भएको बताए । उनले विमानस्थल विकासको सम्झौताको भावनाबमोजिम सम्बन्धित निकायले जिम्मेवारीपूर्वक प्रभावकारी कार्यान्वयनमा लैजान आग्रह गर्दै त्यस क्रममा कुनै समस्या आइपरेमा सङ्घीय सरकारले सहजीकरण गर्ने स्पष्ट पारे । 

मन्त्री ढकालले भने, “विगतमा पनि पवित्र उद्देश्यले लागेका अभियानमा कहिले मुआब्जा बढाउने तथा विभिन्न बहानामा बखेडा झिकेर आयोजनालाई नै प्रभावित पार्ने प्रवृत्ति रहेको भन्दै विमानस्थल विकास र विस्तारमा गलत दृष्टिकोण नपरोस् भन्नेतर्फ सजक रहनुस् ।” 

पर्यटन मन्त्रीले पछिल्लो समय विमानस्थल बनाउने होडबाजी चलेको र खासगरी निर्वाचनका बेला यस्ता एजेण्डा अगाडि बढाउने गरिएको प्रसंग उल्लेख गर्दै आवश्यकता र औचित्यताका आधारमा विमानस्थल बनाउने सरकारको नीतिअनुरुप महेन्द्रनगर विमानस्थल सम्भावना बोकेको प्राथमिकतायुक्त आयोजना भएको बताए।

पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले क्षेत्रीय उडान, धार्मिक पर्यटन प्रवद्र्धनका हिसाबले महेन्द्रनगर विमानस्थल उपयुक्त गन्तव्य भएकाले तीन तहका सरकारको साझेदारीमा विमानस्थलको विकास र विस्तारको कामलाई अघि बढाइने बताए। 
    
क्यानका महानिर्देशक पोखरेलले अन्तर्राष्ट्रिय हवाई मापदण्डअनुरुप पूर्वको भद्रपुरदेखि सुदूरपश्चिमको कञ्चनपुरसम्मको विमानस्थलको विस्तार तथा विकासका लागि गुरुयोजना तयार भइसकेको र महेन्द्रनगर विमानस्थल सोही योजना अन्तर्गत विकास गरिने जानकारी दिए ।  

भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले सुदूरपश्चिमाञ्चल प्रदेशको समृद्धिले नै मुलुकको आर्थिक समृद्धिको ढोका खोल्ने भएकाले महेन्द्रनगर विमानस्थल रणनीतिक महत्वको आयोजना भएको उल्लेख गरे ।  समझदारी पत्रअनुसार प्रदेश सरकारले २५ प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधरा चाँदनी नगरपालिकाले १० प्रतिशत लगानी गर्नेछन् भने सङ्घीय सरकारको तर्फबाट क्यानले ५० प्रतिशत लगानी गर्ने सम्झौतापत्रमा उल्लेख छ ।

महेन्द्रनगर विमानस्थलको हालको धावनमार्गको लम्बाई कम्तीमा एक हजार ६०० मिटरसम्म विस्तार तथा अन्य आवश्यक पूर्वाधार निर्माण गरी विमानस्थललाई ‘थ्रिसी क्याटोगोरी’स्तरको आधुनिक सुविधा सम्पन्न विमानस्थलमा स्तरोन्नति गरिने छ ।

क्यानले सो कार्यका लागि आवशयक सहयोग, समन्वय र अनुगमन गर्नेछ । समझदारीको कार्यान्वयनमा कुनै समस्या आएमा पर्यटन मन्त्रालयले समन्वय गरी विवाद समाधान गर्नेछ । यसअघि प्रदेश नं १ को विराटनगर र कर्णाली प्रदेशको सुर्खेत विमानस्थल विस्तार तथा विकासका लागि तीन तहका सरकारबीच साझेदारीपत्रमा हस्ताक्षर भएको थियो ।
    
महेन्द्रनगर विमानस्थल विगत लामो समय सञ्चालनमा आएर पनि बन्द भएको थियो । क्यानका महानिर्देशक पोखरेलका अनुसार तत्कालीन हवाई विभागअन्तर्गत सन् १९६३ मा स्थापना भएको यो विमानस्थलबाट नेपालगञ्ज र नेपालगञ्जदेखि काठमाडौं उडान हुने गरेको थियो । 

सुदूरपश्चिमका दुर्गम पहाडी भेगको उडान तथा क्षेत्रीय उडान सञ्चालनका लागि महेन्द्रनगर विमानस्थल उपयुक्त गन्तव्य मानिन्छ । छिमेकी मुलुक भारतको राजधानी नयाँदिल्ली महेन्द्रनगरदेखि करीब साँढे तीन किलोमिटर दूरीमा पर्छ । सो क्षेत्रमा सुक्खा बन्दरगाहा निर्माणको योजना रहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 25

Leave A Reply

Your email address will not be published. Required fields are marked *