सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामाथिकाे सुनुवाइमा एमिकस क्युरीले राय दिने क्रम आज सकिएकाे छ । साेमबार पक्ष र विपक्षको बहस तथा निवेदकतर्फको जवाफ सकिएसँगै मंगलबारदेखि शुक्रबारसम्म संवैधानिक इजलासले एमिकस क्युरीकाे राय लिएकाे हाे ।
४ माघयता निरन्तर सुनुवाइ भइरहेकाे याे मुद्दामा एमिकस क्युरीबाट पाँच जना वरिष्ठ कानुन व्यवसायीले इजलाससामु सुझाव पेस गरे ।
एमिकस क्युरीकाे बहस सकिएसँगै इजलासले कानुन व्यवसायीका बहस नाेट अध्ययन गर्ने भएकाे छ । १० फागुनसम्म बहस नाेट पेस गर्न प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर राणाले अधिवक्ताहरूलाई भनेका छन् ।
गत १० पुसमा सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा छलफल गर्न विज्ञहरूको टोली (एमिकस क्युरी) बलाउने निर्णय गरेको थियाे । विज्ञ टोलीको परामर्श लिने कार्यलाई अदालती भाषामा एमिकस क्युरी भनिन्छ ।
एमिकस क्युरीमा नेपाल बारबाट वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेल, विजयकान्त मैनाली र बद्रिबहादुर कार्की तथा सर्वोच्च बारबाट अध्यक्ष पूर्णमान शाक्य र वरिष्ठ अधिवक्ता गीता पाठक छन् ।
एमिकस क्युरीलाई अदालतको सहयाेगी मानिन्छ । कुनै विशेष मुद्दामा विज्ञको राय लिन अदालतले आवश्यक ठानेमा एमिकस क्युरी बोलाउन सक्छ ।
एमिकस क्युरीले सम्बन्धित मुद्दाको पक्ष या विपक्षमा नलागी स्वतन्त्र र निस्पक्ष ढंगले आफ्नो राय दिन्छ भन्ने विश्वास गरिन्छ । मुद्दाका पक्ष या विपक्षले आफ्नो पक्षको तर्फबाट बहस गर्छन् । तर, एमिकस क्युरीले भने स्वतन्त्रतापूर्वक आफ्नो राय राख्छ । आजको शिलापत्र बाट