३ दिन बित्न नपाउँदै कैलालीमा पुनः ठूलो आगलागीको घटना घटेको छ।
जिल्लाको गोदावरी नगरपालिका ५ गेटास्थित अवस्थी ग्रुप नजिक रहेको खडक सिंह पालले सञ्चालन गरेको केएस कन्स्ट्रक्शन प्रालिमा आगलागी भएको हो।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक प्रेम शाहीका अनुसार मंगलबार बिहान ५ बजे अचानक आगलागी भएको हो।
टायर, मोबिल ब्याट्रीलगायतका गाडी निर्माण सामग्री रहेको ग्यारेजमा आगलागी भएको प्रहरीले जनाएको छ। ग्यारेज सञ्चालकलाई उद्धृत गर्दै प्रहरी नायव उपरीक्षक शाहीले करिब ८० लाखदेखि १ करोड रुपैयाँसम्मको क्षति भएको दिनेशखबरलाई बताए।
आगलागीको कारण खुल्न नसकेको बताउँदै उनले धनगढी उपमहानगरपालिका र गोदावारी नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको संयुक्त प्रयासपछि आगो नियन्त्रणमा लिइएको बताइएको छ।
फागुन २२ गते धनगढी उपमहानगरपालिका ४ चटकपुरस्थित आलोक मल्टी कन्सर्नमा आगलागी हुँदा ८ करोड बराबरको क्षति भएको थियो। पछिल्लो समय सुदूरपश्चिममा आगलागीको घटनामा बृद्धि भएका छन्।दिनेश खबरबाट साभार गरिएको