फागुन २६ सुखड – कैलालीको घोडाघोडी नगरपालिका १० पहलमानपुरमा उपभोक्ता हक अधिकार सम्बन्धी जनजागरण कार्यक्रम सम्पन्न भएको छ । उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालय सुदूरपश्चिम प्रदेशको आयोजनामा एक दिने उपभोक्ता हक अधिकार सम्बन्धी जनजागरण कार्यक्रम भएको हो । कार्यक्रममा घोडाघोडी नगरपालिका भित्रका व्यापारी, उपभोक्ता लगायत जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो । उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालयका शाखा अधिकृत धर्मराज जोशीले उपभोक्ता हक अधिकारको बारेमा सहभागीहरूलाई जानकारी दिएका थिए । उपभोक्ताहरूले उपभोग्य वस्तु तथा सेवा खरिद गर्दा समानको छनोट गर्दा विशेष ध्यान दिने, खरिद गरिने सामानको परिमाण मूल्य र गुणस्तर ठिक छ छैन हेर्ने, प्याकिङमा वस्तु उत्पादन गर्दा प्रयोग भएको कच्चा पदार्थ भण्डार र उपभोग गर्ने तरिका तौल उत्पादन मिति उपभोग मिति उल्लेख गरेको छ छैन हेर्नु पर्ने उनले बताए । साथै उनले अखाद्य वा कमसल उपभोग्य वस्तु सेवाको प्रयोगबाट हानि नोक्सानी भएमा क्षतिपूर्तिको लागी तोकिएको उपभोक्ता अदालत समक्ष उजुरी गर्ने,उपभोग मिति नाघेको कुनै पनि औषधी,खाद्य तथा अन्य वस्तुहरू खरिद नगर्न धर्मराज जोशीले सहभागीहरूलाई आग्रह गरे । त्यसै गरी मन्त्रालयका कानुन अधिकृत मान बहादुर लामाले कानुनमा भएको व्यवस्थाको बारेमा जानकारी दिएका थिए । व्यापारीले बिल बिजक नराखेमा ५ हजार देखी २० हजार जरिवाना, वस्तु वा सेवाको वास्तविक गुणस्तर,परिमाण,मूल्य,नापतौल, ढाँचा वा बनावट आदि ढाँटी लुकाई छिपाई वा झुक्क्याई त्यस्तो वस्तु वा सेवा बिक्री वा प्रदान गरेमा २ देखी ३ लाख जरिवाना, कुनै वस्तुको कृत्रिम अभाव सृजना,जम्मा खेरी गर्ने वा बिक्री गरेमा २ देखी ३ लाख जरिवानाको व्यवस्था कानुनमा भएको उनले बताए । उपभोक्ता हक अधिकारको लागि उपभोक्ताहरू नै पहिला आफै सचेत हुनु पर्ने,खरिद गर्ने सामानको छनोट गर्दा विशेष ध्यान दिने, प्याकिङमा उत्पादन कर्ताको ना,ठेगाना उल्लेख छ छैन हेर्ने,उपभोग्य मिति नाघेको औषधि,खाद्य तथा उपभोग्य वस्तुहरू खरिद तथा प्रयोग नगर्न सहभागीहरूलाई जानकारी दिएका थिए । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयमा निमित्त प्रमुख कमल पुनले वाणिज्य सम्बन्धी र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका शाखा अधिकृत उज्ज्वल कोइरालाले कार्यक्रममा सहभागीहरूलाई उपभोक्ता हक अधिकारको बारेमा जानकारी दिएका थिए । एक दिने उपभोक्ता हक अधिकार सम्बन्धी जनजागरण कार्यक्रममा घोडाघोडी नगरपालिकाका १० का अध्यक्ष भीम बहादुर बमको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख ममता प्रसाद चौधरी रहेका थिए ।