Thursday, September 28, 2023

प्लास्टिकको धुवाँ र डढेलोले धनगढीको हावासमेत दूषित पारेपछि चिकित्सकले दिए चेतावनी

ज्योती भट्ट सुखड

सुदूरपश्चिमका धनगढी, भीमदत्त, गोदावरी, टीकापुर जस्ता नगरक्षेत्रमा घरघरमा प्लास्टिक जलाएको धुवाँमा डढेलोको धुवाँ थपिएपछि वायु प्रदूषणको स्तर लगातार भयावह बन्दै गइरहेको प्रति चिकित्सकहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।

हावामा २.५ माइक्रोनका दूषित कणको मापनका आधारमा तयार पारिने वायु प्रदूषण सूचकांक AQI मा बुधवार धनगढीको वायु प्रदूषण १७७ पुगेको छ जुन अघिल्लो दिनको भन्दा अझै माथि हो। AQI को स्तर १०० भन्दा माथि भए त्यो मानव स्वास्थ्यका लागि हानिकारक हुन गर्दछ। घर-घरमा जलाइने प्लास्टिक र वरिपरिका वनमा लगाइएका डढेलोका कारण सुदूरपश्चिमका नगर क्षेत्रको वायु समेत दूषित पाइएको हो।

सवाल कार्यक्रममा बोल्दै चिकित्सकहरूले मानिसहरूलाई घर बाहिर निस्किँदा मास्कको प्रयोग गर्न र वायु प्रदूषण बढेको बेला हिँड्डुल गर्न समेत जान नहुने सुझाव दिएका छन्। अहिले देशभर वायु प्रदूषण बढेकोले घरभित्रै आवश्यक व्यायाम गर्न सल्लाह दिइएको छ। वीर अस्पतालका स्वासप्रस्वास तथा छाती रोग विशेषज्ञ डक्टर कमलराज थापाले दिनेशखबरको वायु प्रदूषण निकै उच्च भएको अहिलेको समयमा बिहान कुनै पनि अवस्थामा व्यायामकालागि बाहिर निस्किएमा स्वासप्रस्वास सम्बन्धि समस्या देखिन सक्ने बताएका छन्।

वायु प्रदूषण बढेको समयमा सडकमा व्यायामका लागि निस्कदा प्रदूषित हावाका कारण नाक, घाटी, फोक्सो, आँखा र छालामा तुरुन्तै समस्या देखिने भएपनि दीर्घकालिन रुपमा फोक्सो, मुटु तथा मस्तिष्कमा समस्या हुने बताएका छन्। डक्टर थापाले घरबाहिरको बायु प्रदूषणको मात्रै चर्चा हुने गरेको भएपनि घरभित्रको वायु प्रदूषणले समेत जनस्वास्थ्यमा असर पार्ने गरेको बताए।

“शहरी क्षेत्रमा हुने गरेको वायु प्रदूषणको मात्रै चर्चा हुने गरेको छ तर घरभित्र दाउरामा खाना पकाउदा हुने धुँवाले समेत परिवारका सबै सदस्यमा प्रतिकुल असर हुनेतर्फ समेत ध्यान दिन जरुरी छ।”

डक्टर थापाले भने। दाउराबाट निस्कने धुवाँबाट स्वास्थ्य जोगाउन दाउराको विकल्पमा अन्य इन्धनको प्रयोगमा जोड दिनुपर्ने थापाले बताए। नेपालमा वायु प्रदूषण बढ्ने क्रम दुई दशकदेखि निरन्तर जारी भएपनि रोकथामका प्रयास भने हुन नसकेको डक्टर थापाले बताए।

वायु प्रदूषण धुम्रपान जतिकै हानिकारक भएकोले नियन्त्रणका व्यक्तिगत र सामूहिक प्रयास हुनु जरुरी भएको डक्टर थापाले बताएका छन्।

धनगढीमा चाहिँ फोहरमैला व्यवस्थापन केन्द्र नहुँदा नगरवासी घर बाहिर प्लास्टिक र अन्य फोहर जलाउन बाध्य भएको पाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *