प्रेम ताडी,चैत्र२६, सुखड,
नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज भयो ।
नेकपा माओवादी केन्द्रले सङ्घीय संसद् सचिवालयलाई लेखेको पत्रअनुसार बिहीवारकाे प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले उद्याेगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साह र श्रम मन्त्री गौरीशङ्कर चौधरी सांसद पदबाट मुक्त भएको बैठकलाई जानकारी गराएका छन् ।
गएको सोमवार माओवादी केन्द्रले अर्घाखाँचीका टोपबहादुर रायमाझी, रौतहट ३ का प्रभु साह, कैलाली ४ का लेखराज भट्ट र कैलाली ३ का गौरीशङ्कर चौधरीलाई पार्टीबाट निलम्बन गरिएकाले सांसदबाट पदमुक्त गर्न संसद् सचिवालयलाई पत्र पठाएको थियो ।
तत्कालीन नेकपालाई सर्वोच्च अदालतले खारेज गरेर एमाले र माओवादी केन्द्र बिउँताइदिएपछि माओवादीका चार सांसद एमालेमा प्रवेश गरेका थिए ।
नेकपा माओवादी केन्द्रले गएकाे मङ्गलवार चार जना मन्त्रीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेको थियाे ।