६ वैशाख,
नेकपा एमालेका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै छ । तर माधव नेपाल -झलनाथ खनाल पक्ष भने उपस्थित नहुने जनाइएको छ ।
आज दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ ।
नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले २६१ जनालाई बैठकमा बोलाइएको र उनीहरुलाई बैठकका एजेण्डाबारे पनि जानकारी गराइएको बताए ।
एमालेका अनुसारसो बैठकमा राजनीतिक प्रतिवेदन, महाधिवेशनको तयारी, उपनिर्वाचनको तयारीलगायतका विषयमा छलफल हुनेछ ।
यद्यपि कमिटीको वैधानिकतामा प्रश्न उठाउँदै आएको झलनाथ खनाल र माधव नेपाल पक्षका नेताहरुले बैठकमा सहभागी नहुने बताएका छन् । एमाले उपाध्यक्ष एवम् माधव नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले आफूहरु बैठकमा सहभागी नहुने बताए । यो महाधिवेशन आयोजक कमिटी नै अवैधानिक भएको भन्दै उनले आफूहरु बैठकमा नजाने बताइन् ।
यसैबीच एमाले अनुशासन कमिटीका अध्यक्ष अमृतकुमार यो बैठकले पार्टीको आन्तरिक विवादलाई थप असहज बनाउने भन्दै बैठक रोक्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।