Tuesday, September 26, 2023

आजै राजिनमा दिएर पुन: प्रधानमन्त्री नियुक्त हुने ओलिको तैयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार नै प्रधानमन्त्री पदबाट राजीनामा दिएर संसदको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पुनः प्रधानमन्त्री नियुक्त हुने तयारी गरेका छन्।

प्रधानमन्त्री ओलीनिकट एक उच्च नेताका अनुसार सम्भवतः ओलीले आज ११/१२ बजेतिर प्रधानमन्त्री पदबाट राजीनामा दिनेछन् र साँझसम्म पुनः प्रधानमन्त्री नियुक्त भएर राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनेछन्।

प्रतिनिधि सभाबाट आज विश्वासको मत नपाउने र सरकार अल्पमतमा पर्ने स्पष्ट भएपछि प्रधानमन्त्री ओलीले संसदको सामना नगरी राजीनामा दिएर पुनः प्रधानमन्त्री नियुक्त हुने सहज बाटो रोज्ने योजना बनाएको ती नेताले बताए।

‘पार्टीभित्रको किचलो र संसदमा बुहमत जुटाउन नसक्दा विश्वासको मत नपाउने स्पष्ट नै भयो,’ ती नेताले भने, ‘तसर्थ संसदमा अल्पमतमा परेपछि फेरि ठूलो दलको हैसियतले प्रधानमन्त्री नियुक्त हुनुभन्दा पहिले नै राजीनामा दिएर नियुक्त हुँदा सहज हुन्छ भन्ने निष्कर्षमा यस्तो येजना बनेको हो।’

ती नेताका अनुसार प्रधानमन्त्री ओलीले आज ११/१२ बजेसम्म शीतल निवास गएर राष्ट्रपति भण्डारीसमक्ष राजीनामा बुझाउने छन्। र, राष्ट्रपतिले तत्कालै संसदको सबैभन्दा ठूलो दल एमालेको संसदीय दलको नेताको हैसियतमा ओलीलाई पुनः प्रधानमन्त्री नियुक्त गर्ने तय भएको छ।

यही तयारी अनुसार काम भयो भने पाँच वर्षअघिको घटना दोहोरिनेछ। २०७३ मा ओलीले अविश्वास प्रस्तावमा मतदान हुनै लाग्दा हतारहतार राजीनामा दिएका थिए।

यसपटक ओलीले माओवादी केन्द्रले सरकारबाट समर्थन फिर्ता लिनु तथा विपक्षीले आफूविरुद्ध अविश्वास प्रस्ताव पेस गर्नुअघि नै विश्वासको मत लिने निर्णय गरेका थिए। त्यसैका लागि आज दिउँसो १ बजे प्रतिनिधि सभाको विशेष अधिवेशन बस्दै छ। 

तर नेपाली कांग्रेस, मोओवादी केन्द्र र जनता समाजवादी पार्टीले विश्वासको मत नदिने जानकारी ओलीलाई दिइसकेका छन् भने एमालेकै माधव नेपाल पक्षका करिब २६ सांसदले समेत ओलीलाई साथ नदिने बरु सांसद पदबाटै राजीनामा दिने तयारी गरेका छन्।

त्यसका लागि नेपाल पक्षले प्रधानमन्त्रीलाई आज बिहान ९ बजेसम्म ओलीलाई अल्टिमेटम दिएको छ।

यसबीच ओलीले पार्टी एकताका लागि आफूहरूले भनेजसरी अघि बढ्ने सहमति जनाए आफ्ना सांसदले राजीनामा नदिने र उनलाई विश्वासको मत दिने नेपाल पक्षको भनाइ छ। अन्यथा सामूहिक राजीनामा दिने नेपाल पक्षका एमाले सचिव योगेश भट्टराईले आइतबारै बताइसकेका छन्।

एमालेका अर्का एक नेताका अनुसार प्रधानमन्त्री ओलीले संसदमा पहिले विश्वासको मत लिने र बहुमत नपाए ठूलो दलको नेताको हैसियतमा फेरि प्रधानमन्त्री नियुक्त हुने तयारी थियो। तर त्यसो गर्दा अल्पमतमा परेपछि फेरि प्रधानमन्त्री नियुक्त भएको जस्ता प्रश्न उठ्ने तथा विपक्षी दलहरूले बुहमत पुर्‍याएर सरकार गठनको दाबीसमेत प्रस्तुत गर्न सक्ने भएकाले अन्तिममा आएर पहिल्यै राजीनामा दिने निष्कर्ष निकालिएको हो।

प्रधानमन्त्री ओली पक्षले सुरुमा संविधानको धारा ७६ (१) अनुसार प्रधानमन्त्री बनेको, संसद् पुन:स्थापना भएपछि एमाले–माओवादी केन्द्रको संयुक्त सरकार धारा ७६ (२) अनुसार चलेको र अब धारा ७६ (३) अनुसार ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त हुन सकिने विश्लेषण गरेको छ।

धारा ७६ (३) अनुसार ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेर सकार गठन गरेपछि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। त्यस अवधिमा बजेट ल्याउन सकिने र बजेटमा लोकप्रिय कार्यक्रम ल्याएर जनतामा स्थापित हुन सहज हुने विश्लेषण ओली पक्षको छ। 

एक महिनापछि विश्वासको मत लिँदा बहुमत नपुगेमा पनि त्यही लोकप्रिय बजेट देखाएर अर्को चुनावमा जान सहज हुने विश्लेषण ओलीपक्षीय नेताहरूले गरेका छन्।

राजीनामा दिएर पुनः प्रधानमन्त्री नियुक्त भएपछि आज नै संसदको विशेष अधिवेशन अन्त्य गर्ने तयारी छ।
स्रोत :-नेपाल खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 4

Leave A Reply

Your email address will not be published. Required fields are marked *