Saturday, September 23, 2023

के हो अक्सिजन कन्सन्ट्रेटर ? कसरी काम गर्छ ? कोरोना संक्रमितलाई कति उपयोगी ?

कोरोना संक्रमित बिरामीहरु अक्सिजन अभावका कारण ज्यान गुमाइरहेका छन्। अस्पताल र होम आइसोेलेसनमा अक्सिजन अभावमा बिरामी छट्पटाइरहेका छन्।

अक्सिजन अभाव हुन थालेपछि अस्पतालहरुले बिरामी भर्ना लिन मानिरहेका छैनन्। यसैबीच अक्सिजन कन्सन्ट्रेटरको चर्चा बारम्बार भइरहेको छ। 

के हो अक्सिजन कन्सन्ट्रेटर ?
हाम्रै वरपरको हावालाई फिल्टर गरेर त्यसबाट शुद्ध अक्सिजन बिरामीसम्म पुर्याउने एक उपकरण हो अक्सिजन कन्सन्ट्रेटर। यो यस्तो मेडिकल डिभाइस हो, जसले हाम्रो आसपास रहने हावालाई तान्छ र त्यसलाई छानेर शुद्ध अक्सिजनमात्र दिन्छ । यसबाट बिरामीलाई थप अक्सिजन प्राप्त हुन्छ। अझ सजिलो गरी भन्नुपर्दा यो एक प्रकारको छनौटो हो, जसले हावामा भएका बिभिन्न ग्यासमध्ये अक्सिजन छुट्याउँछ र बिरामीलाई ९५ प्रतिशतसम्म शुद्ध अक्सिजन दिन्छ।

हामीले लिने हावामा झन्डै २१ प्रतिशत अक्सिजन, ७८ प्रतिशत नाइट्रोजन र अरु अन्य ग्यास हुन्छ। जसलाई शुद्ध गरेर ९० प्रतिशत भन्दा बढी अक्सिजन कन्सन्ट्रेटर मेसिनले दिन्छ।

यसको प्रयोग अहिलेको महामारीको समयमा आइसोलेसन सेन्टर/होल्डिङ सेन्टरहरुमा पनि प्रयोगमा ल्याउन सकिन्छ।

कन्सन्ट्रेटरले हावालाई फिल्टर गरेर शुद्ध अक्सिजन निकाल्ने इन्जिनियर शिशिर जिसी बताउँछन्। उनका अनुसार यसरी निकालिएको अक्सिजन लिक्विड अक्सिजनको जति शुद्ध नभए पनि सामान्य बिरामीहरुका लागि प्रयोग गर्न सकिन्छ। यो आईसीयूमा उपचाररत बिरामीहरुका लागि भने प्रयोग नगर्न सुझाव दिइएको छ।

उनका अनुसार अक्सिजन कन्सन्ट्रेटर सिलिन्डरको विकल्प भए पनि एक मिनेटमा ५ देखि १० लिटर अक्सिजन मात्रा उपलब्ध गराउन सक्छ्। यस्तो अवस्थामा कन्सन्ट्रेटर सामान्य र मध्यम प्रकृतिका बिरामीहरुका लागि मात्र प्रयोग गर्न सकिन्छ। कन्सन्ट्रेटरलाई सजिलैसँग लैजान सकिने भए पनि लिक्विड अक्सिजनको जसरी एउटा निश्चित तापक्रम,भाडा र भण्डारण गर्नुपर्ने झन्झट भने हुँदैन।

अक्सिजन सिलिन्डरमा शुद्ध अक्सिजन भण्डारण गरेर राखिएको हुन्छ। यहाँ अक्सिजनलाई कम्प्रेससमेत गरेर राखिएको हुने उनले बताए।

कन्सन्ट्रेटरमा जडान गरिएको ह्युमिड फायरमा पानी भर्ने बेलामा ख्याल गर्नुपर्छ। म्याक्सिमम वाटर लेभल जहाँसम्म लेखिएको छ, त्यहाँसम्ममात्र शुद्ध खानेपानी भर्नुपर्छ (यसकै लागि आउने अलग पानी पनि हुने गर्दछ)।

अक्सिजन कन्सन्ट्रेटर अक्सिजन सेचुरेशन लेभल ८० देखि ९४ को बिचमा छ भने यसको प्रयोग गर्न सकिन्छ। त्यो भन्दा कम सेचुरेशन भएकोलाई अक्सिजन कन्सन्ट्रेटर फाइदाकारी नहुन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 4

Leave A Reply

Your email address will not be published. Required fields are marked *