Saturday, September 23, 2023

बैतडीमा मन्दिरको सुन चोरेको आरोपमा ५ जना पक्राउ

 बैतडीको एक मन्दिरमा सुन चोरी भएको ६ महिनापछि सुन चोरी कार्यमा संलग्न भएका व्यक्तिहरु पक्राउ परेका छन् । दोगडाकेदार गाउँपालिका वडा नं १ रीमस्थित लटिनाथ मन्दिरको ९ तोला सुन गत पौषमा चोरी भएको भएपनि ढिलो गरी प्रहरीमा उजुरी आएको हो । मन्दिरको सुन चोरेको सम्बन्धमा गत चैतमा मन्दिरका पूजारी नैनराम सार्कीले थाहा पाएपछि सुन चोरी कार्यमा संलग्नहरुको खोजी शुरु गरिएको थियो । 

शुरुमा स्थानीयस्तरमै सुन चोरी कार्यमा संलग्नहरुलाई गाउँलेले खोजी गरेका र असार अन्तिम साता प्रहरीलाई खबर गरेपछि ५ जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए । शुरुमा दुईजनालाई नियन्त्रणमा लिएको र त्यसपछि उनीहरुको बयानका आधारमा थप तीन जनालाई नियन्त्रणमा लिएको उनले बताए । 

प्रहरीले पक्राउ गरेकाहरुबाट पौने चारतोला सुन समेत बरामद गरेको छ । शुरुमा स्थानीयहरुले दिएको निवेदनका आधारमा दोगडाकेदार गाउँपालिका १ रीमका २० बर्षीय धनबहादुर कार्की र ३५ बर्षीय केशव सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुको बयानका आधारमा सोही ठाउँका लालबहादुर कार्की र हरिकृष्ण सार्कीलाई पनि नियन्त्रणमा लिएको प्रहरी निरीक्षक शाहीले बताए । 

यस्तै मन्दिरको सुन चोरेर विक्रि गरेको र उनीहरुबाट सुन खरीद गर्ने दार्चुलाको शैल्यशिखर नगरपालिकाका सुनचाँदी व्यवसायी भुवनसिंह साहुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।  

मन्दिरको सुन चोरी कार्यमा संलग्नहरुमाथि चोरी मुद्दा दर्ता गरेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यो घटनामा अन्य पनि संलग्न रहेको बुझिएको र उनीहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *