Sunday, September 24, 2023

बझाङमा बर्सेनि बढ्दै आत्महत्याका घटना : महिलाकाे सङ्ख्या धेरै

 गएको साउन ३ गते तल्कोट गाउँपालिका ४ शाही बाडाकी २७ वर्षीया सङ्गीता सिंहले दुई वर्षको छोरासहित नदीमा हाम फालिन । उनको अहिलेसम्म अत्तोपत्तो छैन । जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, नेपाली सेना र उनका आफन्तले खोजी गरिरहेका छन् ।

त्यस्तै केही दिनअघि खप्तड छान्ना गाउँपालिका ७ की सुशीला रोकायाले आत्महत्या गरिन । उनका श्रीमान् र सासूविरुद्ध प्रहरीले आत्महत्या दुरुत्साह मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) कमलराज चौधरीले बताए।

बर्सेनि महिलाले आत्महत्या गरेको घटना बढिरहेको प्रति महिला आवास गृहकी प्रमुख गीता शाही भन्नछन् , ‘आफूमाथि हुने घरायसी, आर्थिक तथा मानसिक हिंसाका कारण महिलाहरूले आत्महत्या गर्ने गरेका छन् । महिलाहरू माथि घरेलु हिंसा धेरै हुने गरेको छ । अशिक्षित महिलाहरू पुरुषले जे गरे पनि उनीहरूकै घरमा बस्नुपर्छ भन्ने धारणा छ । पुरुषविरुद्ध वा श्रीमान्, आफन्तविरुद्ध मुद्दा दर्ता गर्ने, आफूमाथि भएको हिंसा सहेर बस्न हुँदैन भन्ने मानसिकता अहिले पनि धेरै महिलामा छैन । जसका कारण आत्महत्याको बाटो रोज्न बाध्य हुन्छन् ।’

आत्महत्याविरुद्ध महिला सेफ हाउस समेत सञ्चालनमा ल्याएका आवास गृहकी प्रमुख शाहीले बताए । यसमार्फत धेरैजसो महिलालाई न्यायसमेत दिलाउन सफल भएको उनले बताइन । तर अझै जनचेतना र महिलाका हक अधिकारका कुराका बारेमा टोल–टोलमा जान आवश्यक रहेको प्रमुख शाही बताउछिन । हिंसा पीडित महिलालाई सरकारले पुनर्स्थापनाकाे व्यवस्था गर्न आवश्यक रहेको पनि उनले बताए । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) रूपक खड्का महिलाले आत्महत्या गर्नुको कारण प्रतिरोध गर्न सक्ने क्षमता कमजोर हुनु, परनिर्भर पर्नु प्रमुख कारण भएकाे बताउछन् । यस्तै आफूमाथि भएको हिंसा तथा पीडालाई आफन्त, छिमेकी वा माइतीमा भन्दा समेत उनीहरूले भएको घरबार बिगार्नु हुँदैन, मिलेर बस्नुपर्छ जस्ता सुझाव दिने गरेका कारण महिलाले आफ्नो साथमा कोही पनि नभएको महसुस गरेर आत्महत्याको बाटो रोज्ने उनकाे भनाइ छ । यसको रोकथामका लागि महिलालाई आत्मनिर्भर बनाउन आवश्यक रहेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/०७६ मा १२ जनाले आत्महत्या गरेकोमा चार जना महिला, तीन जना बालबालिका र पाँच जना पुरुष छन् । यस्तै आर्थिक वर्ष २०७६/०७७ मा २४ जनाले आत्महत्या गरेकोमा ११ जना महिला, चार जना बालबालिका र नौ जना पुरुष रहेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा यो सङ्ख्या बढेर ३३ पुगेको छ । जसमा १४ जना महिला, चार जना बालबालिका र १२ जना पुरुष रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *