संसद पुनःस्थापनाको विषयलाई लिएर नेकपा एमाले ओली र नेपाल पक्षबीच संसदीय समितिमा लफडा भएको छ।आइतबारको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा दुई पक्षबीच संसद विघटन र पुनःस्थापनाको विषयमा ‘अशोभनीय’ वादविवाद भएको हो।
ओली पक्षका सांसद नारदमुनी रानाले आफ्नो धारणा राख्ने क्रममा संसद विघटन हुनुमा पार्टीका वरिष्ठ नेताहरु जिम्मेवार भएको भन्दै समिति बैठकमै रहेका नेता माधवकुमार नेपालमाथि घोचपेच गरे।
उनले परमादेशबाट पुनःस्थापित भएको संसद र अहिलेको सरकारको औचित्य नभएको भन्दै नेता नेपालका गतिविधिप्रति आपत्ति जनाए। उनले ओलीलाई विश्वासको पक्षमा मत हाल्ने बेलामा नेपाल पक्ष अनुपस्थित भएर संसद विघटन गर्न बाध्य पारेको बताए। रानाले यस्तो भनिरहँदा नेपाल पक्षका सांसद डा. दीपक प्रकाश भट्टले आपत्ति जनाउँदै प्रतिगमनका मतियारहरुले जे पायो त्यही बोलेको भन्दै प्रतिवाद गरे।
त्यतिकैमा नेता नेपाल पनि आक्रोशित हुँदै रानालाई ‘प्रतिगमनका मतियार बाहिर निस्क’ भनेर हप्काए। दुई पक्षबीच समितिमा होहल्ला र बाझ हुँदा एकअर्काले बोलेको नसुनिने अवस्था बनेको थियो।
समिति सभापति पवित्रा निरौला खरेलले वातावरणलाई सहज बनाउन प्रयास गर्दागर्दा पनि स्थिति तनावग्रस्त बनेको हो। समितिमा बोल्दा मर्यादामा रहेर निर्धारित विषयमा सभापतिमार्फत बोल्नु पर्ने भएपनि सांसद राना नेता नेपालमाथि खनिएपछि स्थिति असहज बनेको हो।