Thursday, September 28, 2023

कञ्चनपुर कारागारमा क्षमता भन्दा चार गुणा बढी कैदीबन्दी, ११५ जनाको क्षमता ४१० कैदी

कञ्चनपुर । कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ। कारागारमा पुरुष कैदीबन्दी ९५ र महिला कैदीबन्दी २० जना राख्ने क्षमता रहेको छ। कारागारमा २२ महिला र तीन सय ८८ पुरुष गरी चार सय १० जनालाई राखिएको छ।

क्षमताभन्दा बढी कैदीबन्दीलाई राखिएपछि बस्नका लागि समस्या भएको छ। कैदीबन्दी बस्ने भवनमा ठाउँ नभएपछि ग्यालरी, टिनसेट र खाली ठाउमा त्रिपाल टाँगेर बस्ने व्यवस्था गरिएको छ। राति सुत्नका लागि समेत कैदीबन्दीले पालो मिलाउँदै आएका छन्।

सुत्नका लागि व्यवस्था गरिएको ठाउँबाट वर्षाको पानीको भल बग्ने भएकाले कैदीबन्दीले अनिदोमै रात काट्नुपर्ने अवस्था छ। कारागारभित्र रहेका भवनमा ६ वटा शौचालय र आठवटा बस्ने कोठा छन्। शौचालय जानका लागि समेत लाइनमै बस्नु पर्दा निकै सास्ती खेप्नु परेको कैदी बन्दीले बताएका छन्।

कैदीबन्दीको संख्या अधिक हुँदा कारागारभित्र खुट्टा टेक्ने ठाउँसमेत नभएको कारागारका जेलर माया कुमारी बस्नेत थापाले बताइन्।

 ‘कारागारको क्षमताभन्दा कैदीबन्दीको संख्या अधिक भएपछि व्यवस्थापन गर्न निकै चुनौती छ’ उनले भनिन्, ‘सबै भवन पुराना छन्। वर्षातका बेला चुहिने गरेका छन्। चुहिने भवनभित्रै प्लाष्टिकको त्रिपाल टाँगेर कैदीबन्दीलाई राख्नु परेको छ।’

वर्षौं पहिले निर्माण भएका भवन जीर्ण भएपछि पुराना भवनको मर्मत र नयाँ भवन निर्माणका लागि सम्बन्धित निकायमा पटक(पटक पत्राचार गरिएको भए पनि हालसम्म सुनुवाइ हुन नसकेको जेलर थापाले बताइन्।

‘कोरोनाको संक्रमण बढ्ने खतरा छ’ उनले भनिन्, ‘संख्या अधिक भएकै कारण स्वास्थ्यका मापदण्ड पूर्णरूपमा पालना गर्न लगाउन सकिएको छैन।’

कोरोना भाइरसको जोखिम निकै भए पनि कैदीबन्दी कर्मचारी र सुरक्षाकर्मीमा भने  अहिले कोरोनाको संक्रमण देखिएको छैन।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे कारागारको अवस्था दयनीय रहेकाले सुधारका लागि कारागार व्यवस्था विभागमा पत्राचार गरिएको बताए।

 ‘तत्कालै कारागारमा रहेका कैदीबन्दीलाई म्यानेज गर्नुपर्ने अवस्था छ’ उनले भने, ‘त्योसमेत हुन सकेको छैन। सम्बन्धित ठाउँमा अवस्थाबारे जानकारी दिने हो। त्यसबाहेक यहाँबाट केही गर्न सकिँदैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 96

Leave A Reply

Your email address will not be published. Required fields are marked *