मनसुनको मध्यतिर आइपुग्दा नेपालमा सरदर भन्दा धेरै वर्षा भएको छ । नेपालमा चार महिना मनसुनी गतिविधि हुन्छ । त्यसमध्ये जुन महिना सकिसकेको छ भने जुलाई पनि अन्तिम अन्तिम भइसकेको छ ।
अब अगस्ट र सेप्टेम्बर गरी दुई महिनासम्म मनसुनी गतिविधि हुनेछन् । मौसमविद्का अनुसार दुई महिना जुन र जुलाईमा नै नेपालमा सरदर वर्षा भइसकेको छ । २ सयभन्दा बढी वर्षा मापन केन्द्रमा लिइएको तथ्याङ्कले सरदर भन्दा बढी वर्षा भएको देखिएको छ ।
नेपालमा सरदर १ हजार ५ सय मिलीमिटर वर्षा हुन्छ । तर यसपालि मनसुनको दुई महिनामा नै योभन्दा बढी वर्षा भएको छ । यसपालि औसतभन्दा धेरै वर्षा भएकाले बाढी पहिरो र डुबानलगायत प्राकृतिक विपद्का घटना पनि बढिरहेका छन् ।
बाढी पहिरोलगायत प्राकृतिक विपद्मा परेर गएको वैशाख १ गतेदेखि अहिलेसम्म १ सय ७ जनाको ज्यान गएको गृह मन्त्रालयको तथ्याङ्क छ । पहिरोमा ३३ जना, बाढीमा २७, डुबानमा ८, चट्याङ्ग लागेर ३८ र हावाहुरीका कारण एक जनाको ज्यान गएको छ ।
यसैबीच, आज पनि देशका धेरैजसो ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार आज दिउँसो प्रदेश–१, वाग्मती र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । यस्तै, राति प्रदेश–१, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।