दार्चुला जिल्ला अदालतले बलात्कारको मुद्दाका अभियुक्त गाडी चालकलाई उन्मुक्ति दिँदै सहचालकलाई मात्रै जेल सजाय तोकेको छ । १४ वर्षकी बालिकालाई दिनभरि गाडीमा घुमाएर राति गाडी चालकको डेरामा लगी चालक र सहचालकले पालैपालो बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले सरकारी वकिलमार्फत दार्चुला जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।

२०७७ सालको सो घटनाबारे सोमबार दार्चुला जिल्ला अदालतले फैसला सुनाउँदै १९ वर्षीय सहचालक सन्तोष महरलाई मात्र दोषी देखाएको छ । २७ वर्षीय चालक सन्तोष बिष्टलाई भने उन्मुक्ति दिइएको छ ।
सोमबार जिल्ला अदालत दार्चुलाका न्यायाधीश लोकजंग शाहको एकल इजलासले यस्तो फैसला सुनाएको हो । फैसला चित्तबुझ्दो नभएको भन्दै सरकारी वकिलले उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेको पीडित पक्षको भनाइ छ ।

पीडित बालिकाका अभिभावकले प्रहरीमा दिएको जाहेरीअनुसार बर्ष १४ की बालिका ०७७ माघ २८ गते बिहान दिदीको घरबाट आफ्नो घर जान्छु भनी गाडी कुरेर बसिरहेकी थिइन् । त्यहीबेला सहचालक सन्तोष महरले ललाई–फकाई मालिकार्जुन सिमलगैरको होटलमा पुर्याएका थिए ।

पछि सहचालक सन्तोष महर पुनः उक्त होटलमा आए । त्यहाँबाट उनलाई गोकुलेश्वर बजारमा रहेको अर्को होटलमा लगी जबरजस्ती करणी गरे । त्यसपश्चात गाडी चालक सुरेश बिष्टको डेरामा समेत लगेर जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।