काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दिनहुँ मन्त्रिपरिषद् पुनर्गठनबारे छलफलमा छन् । तर, परिणाम निस्किइरहेको छैन ।
प्रधानमन्त्री समेत रहेका ओलीले आइतबार नै मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका थिए । तर, प्रचण्डले रोकिदिएपछि सोमबारको छलफलमा पनि निष्कर्षमा पुग्न नसकेको नेकपाका नेताहरूले जनाएका छन् ।
“दुई अध्यक्ष, ओली–प्रचण्डबीच मापदण्डकै विषयमा कुरा मिलेको छैन,” नेकपा स्थायी कमिटी हरिबोल गजुरेल भन्छन्, “यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकमा प्रस्तुत गर्नुभएकै विकल्प र मोडालिटीमा दुई अध्यक्षको छलफल केन्द्रित छ । तर, टुङ्गो लागिसकेको छैन ।”
प्रचण्डनिकट स्रोतका अनुसार मन्त्रिपरिषद् पुनर्गठनमा प्रधानमन्त्री ओलीले नेताहरूको भूमिकालाई छायामा पार्न खोजेका छन् । मन्त्रालय टुक्र्याउनेदेखि मन्त्री छान्ने काममा नेताहरूको राय सुझाव लिने र अन्तिम निर्णय आफैं गर्ने तयारीमा लागेपछि प्रचण्ड सशङ्कित बनेको स्रोतको भनाइ छ ।
“प्रधानमन्त्री ओली स्थायी कमिटी बैठक र सचिवालय बैठकमा नेताहरूले दिएका सुझावअनुसार अघि नबढेर एकलौटी अघि बढ्न खोजेपछि समस्या भएको हो,” नेकपाका प्रभावशाली नेता भन्छन्, “पार्टीका निर्णय मान्छु भनेपछि नेताहरूले दिएको सुझावअनुसार नै अघि बढ्नुपर्यो नि ।”
स्रोतका अनुसार राष्ट्रियसभा सदस्यमा पठाउने निर्णय कार्यान्वयनसँगै उपाध्यक्ष वामदेव गौतमले मन्त्री बन्ने आकाङ्क्षा पालेका छन् ।
यसमा अदालत तगारो बनेको छ । राष्ट्रियसभा सदस्य बनाउने निर्णय यथास्थितिमा राख्दै थप जिम्मेवारी नदिनू भनेर अदालतले अन्तरिम आदेश दिएको छ । उनीविरूद्धको मुद्दाको पेसी १४ गते तोकिएको छ ।
त्यतिञ्जेल पर्खनुपर्छ भनेर आजको बैठकमा पनि प्रचण्डले अडान दोहोर्याएका थिए । आइतबारको कुराकानी पनि प्रचण्डले यही भनेका थिए ।
तर, ओलीको रुचि वामदेवलाई मन्त्री बनाउने छैन । ओलीले आज पनि छिट्टै गरौं भनेर जोडबल गरेको स्रोतको भनाइ छ । राष्ट्रियसभा सदस्य मनोनीत गर्दा नै सार्वजनिक आलोचना झेल्न परेकाले थप जिम्मेवारी दिन नहुने ओलीको अडान पनि छ । ओलीपक्षका नेताहरू त वामदेवलाई मन्त्री नबनाउन लबिइङ नै सुरु गरेका छन् ।
प्रचण्डले यसबारे अन्य नेताको पनि धारणा बुझ्नुपर्ने र मुद्दाबारे फैसला नहुञ्जेल मन्त्रिपरिषद् पुनर्गठन अघि बढाउन नहुने तर्क गरेपछि ओली अप्ठ्यारोमा परेका छन् । तत्काल मन्त्रिपरिषद् पुनर्गठन गर्ने उनको चाहनामा ब्रेक लागेको छ ।
“यसअघि जे–जे गरे पनि प्रधानमन्त्री ओलीले यसपटक पार्टी निर्णय र नेताहरूका सुझाव लत्याउन सक्ने अवस्था छैन । किन पार्टीको निर्णय मान्दिनँ भन्नुपर्यो,” ती सदस्य भन्छन्, “हैन भनेर सबैको भावनाअनुसार चल्नुपरर्यो ।”
उपाध्यक्ष गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्री बन्ने चाहना राखे ओलीले रोक्न नसक्ने कतिपयको बुझाइ छ ।
“सचिवालय तहकै नेता मन्त्री बन्छु भनेपछि प्रधानमन्त्रीले इन्कार गर्न सक्नुहुन्न । त्यसैले पनि उहाँले फैसला नआउँदै मन्त्रिपरिषद् टुङ्ग्याउँ भन्नुभएको होला । तर, प्रचण्ड, खनाल र नेता नेपालको चाहना असोज १४ पछि मात्रै गरौं, नहतारिउँ, सबै नेताहरूको राय, सुझाव लिउँ, एकीकृत धारणा बनाएर जाऔं भन्ने छ,” सचिवालयका अर्का नेता बताउँछन् ।
नेकपाका केही नेताले सचिवालय बैठकले मोडालिटीको टुङ्गो लगाउन नसक्नु कमजोरी भएको बताउँछन् । सचिवालय बैठकले मोडालिटी र मापदण्ड टुङ्गो लगाएर रोस्टर बनाएको भए मन्त्रिपरिषद् पुनर्गठन विधिमार्फत् र छिट्टै पनि हुने ती नेता बताउँछन् ।
“स्थायी कमिटी र सचिवालय बैठकमा नीतिगत मात्रै छलफल भयो । अहिले दुई अध्यक्ष बसेर टुङ्ग्याउन खोज्दै हुनुहुन्छ । प्रचण्ड एक्लै निर्णय दिन सक्ने अवस्थामा छैनन् । उनले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसँग पनि छलफल गरेर निर्णयमा पुग्नुपर्छ । यही समस्या परेको हुनसक्छ,” ती सदस्यको दाबी छ ।
माधव नेपालले बोलाए आफूनिकट दुई मन्त्री
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफूनिकट दुई मन्त्रीलाई कोटेश्वर (निवास) बोलाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाललाई कोटेश्वर, निवासमै बोलाएर नेता नेपालले छलफल गरेको स्रोतको दाबी छ ।
नेता नेपालले मन्त्री भट्टराईसँग पछिल्लोपटक सञ्चारमाध्यममार्फत् उठेका प्रश्नबारे जिज्ञासा राखेका थिए । हिमालय एअरलाइन्सलाई ग्राउन्ड ह्याण्डलिङ गर्न दिने निर्णयमा नेता नेपालको चासो रहेको थियो ।
जवाफमा भट्टराईले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले नियमानुसार नै दिन लागेको बताए पनि तत्कालका लागि रोकिएको बताएका थिए । नेता नेपालले अरू मन्त्रालयगत कामबारे पनि चासो राखेका थिए ।
कृषिमन्त्री घनश्याम भुसालसँग पनि बङ्गलादेशबाट मल पैंचो ल्याउने विषयमा भइरहेका ढिलाइबारे चासो राखेका थिए । जवाफमा मन्त्री भुसालले दुई महिनाभित्र मल ल्याइपुर्याउने बताएको स्रोतको दाबी छ । भुसालसँग मन्त्रालयगत प्रगतिबारे पनि नेता नेपालले चासो राखेको स्रोतले जानकारी दियो ।