धनगढी १२ असोज। गृहमन्त्री रामबहादुर थापा‘बादल’ले बलात्कारका घटनामा मेलमिलाप गराउने, पञ्चायती बस्ने कार्यमा संलग्नहरूलाई पनि मतियारको रूपमा पक्राउ गरी कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
बलात्कारका घटनामा संलग्नलाई कारबाहीको माग गर्दै आज गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउन आएको अखिल नेपाल महिला संघ (अनेमसंघ)का प्रतिनिधिमण्डल र बझाङ जिल्लाका जनप्रतिनिधिमण्डलसँगको संयुक्त भेटमा गृहमन्त्री थापा बलात्कारजस्तो जघन्य अपराधमा मिलापत्र गराउनु ठूलो अपराध भएको टिप्पणी गरे ।
उनले यस्तो मिलापत्र गराउनेलाई कारबाहीको सुनिश्चितता विद्यमान कानुनले गरेको बताउँदै आवश्यकपरे थप कडा कारबाहीको प्रावधान राख्न कानुन संशोधन गरिने बताए । उनले बलत्कारका घटना समाजका लागि लज्जाको विषय भएको भन्दै यस्ता घटना रोक्न सरकार संवेदनशिल र गम्भीर रहेको बताए ।
सो क्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पछिल्ला दिनमा भएका बलात्कारका घटनामा संलग्न अधिकांश आरोपी प्रहरीले पकाउ गरिसकेको जानकारी दिँदै मिलाउपत्र गराउने कार्यमा संलग्नसमेतलाई कारबाही अघि बढाइएको बताए ।
ज्ञापनपत्र बुझाउँदै अनेमसंघका संयोजक अमृता थापाले पछिल्ला दिनमा महिलाहिंसा र बलात्कारका घटना बढेको भन्दै त्यस्ता घटनामा संलग्नलाई कारबाही, पीडितलाई उपचार, सुरक्षा र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग राखिन्