चितवन १० मंसिर । चितवनस्थित नारायणी नदीको किनारमा नेकपा एमालेको १० औं महाधिवेशन उद्घाटन समारोह भब्यरुपमा सम्पन्न भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आज सुरु भएको महाधिवेशनले पार्टीमा उच्च स्तरको समझदारी र एकता कायम गर्ने बताएका छन् ।
महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले सहमति वा लोकतान्त्रिक विधिबाट महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने बताए ।
ओलीले भने, ‘सहमति होस वा लोकतान्त्रिक विधिबाट, उच्चस्तरको समझदारी र एकताका साथ महाधिवेसनलाई सम्पन्न गर्नेछौं ।’
एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सर्वाधिक जनसमर्थनका साथ र उत्साहका साथ सम्पन्न भएको छ । अब अर्को पाँच वर्ष देशलाई दिशानिर्देश गर्ने, देश हाँक्ने एकतावद्ध नेतृत्व निर्माण गरेर महाधिवेशन हलबाट निस्कनेछौं । त्यही सुखद सन्देश लिएर बाहिर आउने छौं ।
लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता भएपछि मात्रै आत्मसम्मान मिल्छ: अध्यक्ष ओली

अध्यक्ष ओलीले नयाँ नक्सामा समेटिएको जमिन फिर्ता भएपछि मात्रै आत्मसम्मान मिल्ने बताएका छन् । ।
चितवनमा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई आज शुक्रवार सम्बोधन गर्दै उनले नयाँ नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानीको जमिन संवादका माध्यमबाट फिर्ता लिनुपर्नेसमेत बताए ।लिम्पियाधुरा, लिपुलेक र कालापानी नयाँ नक्सामा समेटेर त्यसलाई संविधानको अङ्ग बनाएको तर त्यो जमिन फिर्ता लिएपछि मात्रै आत्मसम्मान हुने अध्यक्ष ओलीले बताए। । जग्गा फिर्ता नलिएसम्म दबिएको र हेपिएको अनुभूति भइरहने उनले भनाइ छ ।ठूला–साना, गरिब–धनी जे भए पनि सबै देशको सार्वभौमसत्ता समान रहने र समान हिसाबले व्यवहार हुनुपर्नेमा उनको जोड छ । एमालेले राष्ट्रिय स्वाधीनता र स्वतन्त्रता चाहेको उनको भनाइ छ ।साथै अध्यक्ष ओलीले दशौँ महाधिवेशनबाट एमालेलाई मात्रै नभइ देशलाई नै हाँक्ने एकताबद्ध नेतृत्व निर्माण गर्नेसमेत बताए ।

पार्टी विभाजनको ताजा चोट खेपेको एमालेले यस महाधिवेशनलाई आफ्नो शक्ति प्रदर्शन गर्ने अवसरको रूपमा लिएको थियो । पार्टीलाई विभाजनले ठूलो असर नपरेको देखाउनका लागि पनि एमालेलाई जनता उतार्नैपर्ने बाध्यता थियो । देशैभरबाट सयौं सवारीसाधनहरूले मान्छे ओसारेका थिए । फलस्वरुप उद्घाटन समारोहमा नारायण किनार खचाखच भयो । नारायणी पुलमासमेत थेगिनसक्नु मानिसहरू भेला भएका थिए ।
उद्घाटनस्थलमा मानिसहरू अटाइनअटाइ थिए नै, धेरै त त्यहाँसम्म पुग्न पनि नसकेर बाटैमा रोकिनुपर्यो । कार्यक्रममा एमालेका नेताहरु र अन्य अतिथिहरूलाई मञ्चसम्म पुग्नै सकस परेको थियो । नारायणी पुलपारि हजारौंले डिजिटल स्क्रिनबाट उद्घाटन समारोह नियालेका थिए ।
एमालेले यो महाधिवेनशनलाई भव्य बनाउन कुनै कसर बाँकी राखेको छैन । उद्घाटनस्थलको मञ्च निर्माणमा नै ५० औं लाख खर्च गरिएको थियो । अहिलेसम्म कुनै पनि राजनीतिक सभामा निर्माण गरिएकोमध्ये विशाल र आकर्षक मञ्च एमालेले बनाएको छ । त्यसो त, चार घण्टा प्रयोग हुने मञ्च यति खर्चिलो बनाएकोमा पार्टीले आलोचना पनि खेप्नुपरेको छ एमालेले । कैयन स्थानमा खडा गरिएका स्वागतद्वारहरू पनि उत्तिकै खर्चिला छन् ।
समारोह उद्घाटनमा एमालेले नयाँ प्रयोग गरेको छ । अध्यक्ष केपी शर्मा ओली आफैंमा प्रविधिमैत्री नेता हुन् । उनले रिमोट कन्ट्रोटर थिचेर झण्डोत्तलन गर्दै महाधिवेशनको उद्घाटन गरेका थिए । ओलीले रिमोट थिच्दा नेपालको राष्ट्रिय झण्डा, सूर्यअंकित झण्डा र हँसिया(हतौडा अंकित झण्डा एकसाथ स्वचालितरुपमा माथि उठेको दृष्य सहभागीका लागि नौलो रह्यो ।

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष ओली मञ्चमा उक्लिने समय एकैचोटि परेको थियो । लामो समयदेखि एउटै मञ्चमा नदेखिएका दुई नेताले सँगै मञ्चमा उभिएर अभिवादन गरेका थिए । राजनीतिक विवादका कारण ओली र देउवाको सम्वन्धमा छाएको चिसोपनलाई आजको दृष्यले बिर्साएको थियो । आफ्नो भाषणमा देउवाले ओलीसँग आफूले जेलमा सँगै दुस्ख भोगेको भन्दै भावुकता व्यक्त गरेका थिए ।
महाधिवेशन उद्घाटन कार्यक्रम धेरै लम्बेतान भएन । प्रवक्ता प्रदीप ज्ञवालीले सञ्चालन गरेको उद्घाटन कार्यक्रममा आठजना वक्ता थिए । कमल थापाको भाषण एमाले कार्यकर्ताका निम्ति प्रिय बन्यो । उनले नाकाबन्दी र चीनसँगको पारवहन सन्धीको स्मरण गर्दै ओलीको प्रशंसा गर्दा सहभागीहरुले हुटिङ गरेका थिए ।
अन्तिममा बोलेका अध्यक्ष ओलीले देउवालाई केही घोचपेच गर्न भ्याए । आफू सरकारमा छँदा काम गर्न नदिएकाहरूले अहिले देउवाको खुट्टा समातेको टिप्पणी उनले गरेका थिए । महाधिवेशनपछि आफ्नो पार्टी चुनावको तयारीमा लाग्ने भन्दै उनले एमालेको एकल बहुमत देशलाई चाहिएको बताए । महाधिवेशनबाट एमाले एकताको सन्देश बोकेर निस्कने ओलीको भनाइ थियो ।
उद्घाटन समारोहमा भाग लिन पुगेका विदेशी पाहुनाहरूले भने बोल्ने अवसर पाएनन् । अध्यक्ष ओलीले भोलिबाट सुरू हुने बन्दसत्रमा विदेशी नेताहरूले बोल्ने जानकारी दिएका छन् ।
उद्घाटन समारोहमा जनसहभागिता जति उत्साहजनक थियो, व्यवस्थापन पक्षमा भने विभिन्न कमिकमजोरी देखिएका थिए । टाढा(टाढाबाट आएका कार्यकर्ताहरू कार्यक्रमस्थलसम्म पुग्नै सकेनन् । कार्यक्रम स्थलमा शौचालय र पिउने पानीको अभाव थियो ।
जे होस्, आजको जनसहभागिताबाट एमाले नेतृत्व पंति भने निकै उत्साहित देखिएको छ । पार्टीलाई विभाजनको ठूलो असर नपरेको अर्थमा नेताहरूले यो सहभागितालाई व्याख्या गरेका छन् ।