नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेश कमिटी गठन गरिएको छ ।
एमालेको जारी केन्द्रीय कमिटी बैठकले सुदूरपश्चिम सहित सातै प्रदेशका कमिटी गठन गरेको हो ।
सुदूरपश्चिम प्रदेश कमिटीमा बैतडीका दामोदर भण्डारी अध्यक्ष, अछामका कमल तिमिल्सेना उपाध्यक्ष, कैलालीका धर्मराज पाठक सचिव, बाजुराका बलदेव रेग्मी उपसचिव र कैलालीकै भागीरथी विष्ट उपसचिव छानिएका छन् ।
अध्यक्ष भण्डारी पूर्व अर्थ राज्मन्त्री र अहिले पनि प्रतिनिधि सभा सदस्य छन् । उनी ०७० को संविधान सभा सदस्यमा पनि बैतडीबाट निर्वाचित भएका थिए । नेता भण्डारीले बैतडीको पार्टी नेतृत्व पनि सम्हालिसकेका छन् । यस्तै उपाध्यक्ष तिमिल्सेना अछाम जिल्ला कमिटीको अध्यक्ष भइसकेका पुराना नेता हुन ।
सचिव पाठक अनेरास्ववियूको केन्द्रीय कोषाध्यक्ष भइसकेका एमाले कैलाली जिल्ला कमिटी सदस्य समेत हुन ।
उपसचिव रेग्मी बाजुरा जिल्ला कमिटीका यसअघि सचिव र अहिले प्रदेश सभा सदस्य पनि हुन । उपसचिव रेग्मी र विष्ट यसअघि पनि उपसचिव थिए । विष्ट पूर्व माओवादीबाट एमालेमा आएकीपछि उपसचिव बनेकी हुन ।