सुबिन बिश्वकर्मा/ बराहक्षेत्र
नेपाल बिधुत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र चिकित्स क्षेत्रको सुधारका निम्ति अनशनरत डाक्टर गोबिन्द केसीको समर्थनमा भोलि(शनिबार) बराहक्षेत्रमा पनि र्याली हुने भएको छ ।
बराहक्षेत्रका सक्रिय युवाहरूले गर्न लागेको मोटरसाइकल र्याली नडाहाबाट सुरु भएर चतरा-देबिघाट-सोमबारे हुँदै चक्रघटीमा पुगेर मन्तब्य राखिने कार्यक्रम संयोजक तेजबहादुर पुरी(सन्तोष) ले जानकारी दिए । उनका अनुसार चक्रघटीमा मन्तव्य सकेर पुनः मधुवन-पिडारी- कालाबंजर हुँदै नडाहामै र्याली बिर्सजन हुने छ ।
सरकारले कुलमान घिसिङलाई बिधुत प्राधिकरण पुन:नियुक्ति गर्नुपर्ने, डाक्टर गोबिन्द केसीको माग यथासक्य चाडो सम्बोधन गर्नुपर्ने र सरकारले विभिन्न देशका लागि राजदुत नियुक्ति गरिरहेको विषयमा पुनर्बिचार गर्नुपर्ने मागसहित स्थानीय निकायको माध्यमद्वारा सरकारलाई दबाब दिन यस्तो र्याली गरिएको संयोजक पुरीले बताए ।
प्रहरी प्रशासनसँगको समन्वयमा कार्यक्रम गर्न लागिएको हो । कोरोनोभाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै भौतिक दुरी, स्वास्थ्य प्रोटोकलका माक्स, सेनिटाइजर सहित र्याली गर्न लागिएको जनाईएको छ । बराहक्षेत्रका युवाहरूले गर्न लागेको यस कार्यक्रममा यहाँका स्वतन्त्र ब्यक्तिले सहभागिता जनाउने छन् । संयोजक पुरी भन्छन्, `हामीले ब्यक्तिको हैन, सरकारको सिस्टमको बिरोध गरेका हौ ।´ सरकारले गरेको सहि कामलाई समर्थन र गलत कामको बिरोधमा बराहक्षेत्रका युवाहरूले आवाज सदैब उठाइरहने उनको भनाई छ ।