काठमाडौं । साविक प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफले बीमा क्षेत्रमा पहिलो विग मर्जरको इतिहास रच्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले मर्जरको नीति अख्तियार गरेसँगै जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा पहिलो पटक मर्जरको सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।
तीन कम्पनीले २०७९ बैशाख २९ गते मर्जरको सहमति गरेको आधारमा ३६२ औ दिनमा एकिकृत कारोबार गर्न सफल भएका हुन् । लेखापरीक्षणका कारण मर्जरमा ढिलाइ भए पनि तीन कम्पनीले विग मर्जरको इतिहास रच्न सफल भएका छन् ।

दुई वटा कम्पनी मिल्नै गाह्रो परिरहेको सन्दर्भमा तीन वटा जीवन बीमा कम्पनी मिलाउनु धेरै नै चुनौतीपुर्ण थियो । तर तीन वटै कम्पनीमा एउटै समुदायका लगानीकर्ताको लगानी रहेकाले पनि मर्जर गर्न सकिएको विश्लेषण गरिएको छ । यो मर्जरसँगै राजेन्द्र खेतान, सुलभ अग्रवाल, शेखर गोल्छा, दुगर समुहका लगानीकर्ता एउटै कम्पनीमा जोडिएका छन् । यो समुहको एकताले पछिल्लो समय ठुला ठुला कम्पनीको लाइसेन्स हात पार्न सफल भइरहेको छ ।
तीन वटा कम्पनी मर्जर भएसँगै धेरै वटा सूचकमा अगाडी देखिएको छ । जीवन बीमा क्षेत्रमा चुक्ता पूँजीका हिसावले हिमालयन दोस्रो ठुलो कम्पनी बनेको छ । त्यस्तै जीवन बीमा कोषका हिसावले चौथो ठुलो कम्पनी बनेको छ । शाखा सञ्जालका हिसावले सबैभन्दा ठुलो कम्पनी बनेको छ भने कर्मचारी तर्फ पनि सबैभन्दा अगाडी रहेको छ । नविकरण गरेका अभिकर्ताको संख्याका आधारमा पनि हिमालयन लाइफ सबैभन्दा अगाडी छ । मर्जर सँगै जीवन बीमा क्षेत्रमा एक दशकदेखि राज गर्दै आइरहेको नेपाल लाइफलाई हिमालयन लाइफले आजैदेखि टक्कर दिन सुरु गरेको छ ।
अथाह अवसरलाई पछ्याउदै सम्मुन्नतिको दिशा तर्फ एउटै लक्ष्य र एउटै पहिचानका साथ अझ सबल र अझ सदृढका लागि यूनियन लाइफ, गुराँस लाइफ र प्राइम लाइफ एक आपसमा गाभिएर हिमालयन लाइफ भएको कम्पनीले जनाएको छ । यस सुखद अवसरमा निरन्तर सहकार्य गर्ने ग्राहक वर्ग, शेयरधनी, नेपाल बीमा प्राधिकरण र अन्य नियमनकारी निकायहरु एवं सम्पुर्ण शुभेच्छुकहरु प्रति कम्पनीले आभार व्यक्त गरेको छ । आउदा दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

चुक्ता पूँजी
चुक्ता पूँजीका हिसावले दोस्रो ठुलो कम्पनी बन्न सफल हिमालयन लाइफले छिट्टै १० अर्ब पुर्याउने योजना बनाएको छ । मर्जर पश्चात कम्पनीको चुक्ता पूँजी ८ अर्ब २ करोड पुगेको छ । साविक यूनियन लइफको चुक्ता पूँजी २ अर्ब ३४ करोड, गुराँस लाइफको २ अर्ब ५३ करोड र प्राइम लाइफको तीन अर्ब १४ करोड रुपैयाँ थियो । बराबरी हैसियतमा मर्जर सम्पन्न भएकाले चुक्ता पूँजी ८ अर्ब २ करोड पुगेको हो ।
जगेडा कोष
हिमालयन लाइफको कम्पनीको जगेडा कोषमा ९० करोड रुपैयाँ जम्मा भएको छ । साविक यूनियनको जगेडा कोषमा ६ करोड ७५ लाख, गुराँस लाइफको ३३ करोड ३२ लाख, प्राइम लाइफको ४९ करोड ९४ लाख रुपैयाँ थियो ।
जीवन बीमा कोष
जीवन बीमा कम्पनीहरुका लागि जीवन बीमा कोष सबैभन्दा महत्वपुर्ण मानिन्छ । मर्जर सँगै हिमालयन लाइफको जगेडा कोषमा ५० अर्ब ११ करोड रुपैयाँ जम्मा भएको छ । साविक यूनियन लाइफको जीवन बीमा कोषमा १४ अर्ब ३६ करोड, गुराँस लाइफको १४ अर्ब ८ करोड र प्राइम लाइफको २१ अर्ब ६६ करोड रुपैयाँ थियो ।
प्राकृतिक विपद कोष
हिमालयन लाइफको यस्तो कोषमा ३३ करोड १० लाख रुपैयाँ जम्मा भएको छ । साविक यूनियन लाइफको २ करोड ८९ लाख, गुराँस लाइफको १० करोड, प्राइम लाइफको १० करोड १२ लाख रुपैया थियो ।
सम्पत्तीमा लगानी
मर्जर पश्चात हिमालयन लइफको कुल सम्पन्नीमा रहेको लगानी ९ अर्ब ६८ करोड पुगेको छ । यूनियनको यस्तो रकम २ अर्ब ११ करोड, गुराँसको २ अर्ब ८२ करोड र प्राइम लाइफको तीन अर्ब ६ करोड रुपैया छ ।
कुल लगानी
मर्जर पश्चात कम्पनीको कुल लगानी ५१ अर्ब ९५ करोड पुगेको छ । जसमा साविक यूनियनको १५ अर्ब ६४ करोड, गुराँस लाइफको १४ अर्ब ८७ करोड र प्राइम लाइफको २१ अर्ब ४३ करोड रुपैयाँ छ ।
कुल बीमा शुल्क संकलन
साविक तीन वटै जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ७८ अर्ब ७६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरिसकेका छन् । साविक यूनियन लाइफले २९ अर्ब १० करोड, गुराँस लाइफले १९ अर्ब २ करोड र प्राइम लाइफले ३० अर्ब ६२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरिसकेका छन् ।
दाबी भुक्तानी
साविक तीन बीमा कम्पनीहरुले ४० हजार ६३७ वटा बीमा पोलिसीको दाबी भुक्तानी गरिसकेका छन् । जसमा यूनियनले ३ हजार ९६२ वटा, गुराँस लाइफले १६ हजार ४१० वटा र प्राइमले २० हजार २६५ वटा पोलिसीको दाबी भुक्तानी दिएका हुन् ।
त्यस्तै हालसम्म तीन वटा कम्पनीले १५ अर्ब १९ करोड रुपैयाँ दाबी भुक्तानी गरिसकेका छन् । यस अवधिमा साविक यूनियनले बीमितलाई २ अर्ब ३० करोड, गुराँस लाइफले ६ अर्ब र प्राइम लाइफले ६ अर्ब ८८ करोड रुपैयाँको दाबी भुक्तानी गरिसकेका छन् ।
जारी बीमालेख संख्या
साविक तीन बीमा कम्पनीहरुले ५ लाख १२ हजार ६५८ वटा बीमा पोलिसी बिक्री गरेको पाइएको छ । जसमा साविक यूनियन लाइफले एक लाख ९१ जजार, गुराँस लाइफले ९८ हजार २०२ र प्राइमले २ लाख २३ हजार वटा पोलिसी जारी गरेका थिए । अव यि सबै पोलिसीको दायित्व हिमालयन लाइफले बेहोर्नेछ ।
अभिकर्ता सञ्जाल
हिमालयन लाइफको अभिकर्ता सञ्जाल सबैभन्दा धेरै रहेको छ । साविक यूनियन लाइफको अभिकर्ता संख्या १४ हजार ५००, गुराँस लाइफको ३ हजार ३९२ जना र प्राइम लाइफको ३ हजार ४१० जना थिए । अभिकर्ता सञ्जाल तर्फ नविकरण भएको पछिल्लो संख्याका आधारमा हिमालयन लाइफ नै अगाडी देखिएको छ । हिमालयन लाइफको