कैलाली जेठ ११ गते । तराईमा तापक्रम बढेसंगै यहाँका केहि मानव वस्तीमा खानेपानीको समस्या देखिएको छ । कैलालीको घोडाघोडी नगरपालिका वडा नं. ८ जरही गाउँमा पहिला देखिनै खानेपानीको समस्या रहेको थियो । स्थानीय सरकारको पहलमा सामुहिक खानेपानीको व्यवस्था गरेपनि उच्च तापक्रमका कारण पानीको स्रोत घट्नुको साथै विजुली बत्तीको पावर कम भएपछि अहिले उक्त बस्तीका पाँचसय घरधुरी परिवारलाई खानेपानीको जोहो गर्न धौ धौ परेको छ ।
सुखड बजारदेखि करिब १५ किलोमिटर टाढा रहेको जरही नगरको दुर्गम गाउँ हो । २०६४ सालको बाढीबाट विस्थापीत धेरै परिवारको उक्त गाउँमा बसोबास छ ।
चुरे पहाडको फेंदीमा रहेको उक्त बस्तीका बासिन्दाले खानेपानीका लागि हेन्डपम्प(नल्का) गाड्नका लागि विगत देखिनै निक्कै प्रयास गर्दापनि पानी निस्कदैन । आफ्नो बस्तीमा खानेपानी नआएपछि २ किलोमिट टाढा रहेको बस्तीबाट खानेपानी ल्याउन जरहीका बासिन्दा बाध्य थिए ।
आर्थिक बर्ष २०७४।०७५ मा घोडाघोडी नगरपालिकाको आठलाख बढी सहयोग लगानीमा दुइसय फीट गहिराइसम्म डीपबोरिङ्ग गरि सामूदायिक धारा जडान गरेपछि अर्काको घरमा गाली सहदै पानी ल्याउनुपर्ने बाध्यता हटेको थियो ।
निम्न आर्थिक अवस्था भएका गरिब,दलित,जनजातीको बढी बसोवास उक्त बस्तीमा रहेको छ । पानी निकाल्नका लागि वस्तीमा पटक पटक नल्का गाड्ने प्रास गरेपनि माथील्लो सतहमा ढुंगा लागेपछि पानी निकाल्न समस्या पर्ने गरेको स्थानीय बताउँछन् ।
स्थानिय उत्तम बुढामगरले प्रत्येक घरले पानी निकाल्न नल्का गाड्ने निक्कै प्रयास गरेपनि ३२ फिटमै ढुंगा लागेपछि पानीको आस मरेको बताउनु भयो । गहिरो नल्का धसाउन धेरै खर्च आउने भएपछि निम्न आयस्रोत भएका उक्त बस्तिका बासिन्दा नगरपालिकाले गाउँभरीलाई एक ठाउँमा खानेपानीको व्यवस्था गरेपछि खानेपानीको समस्या केहि समय समाधान भएको महशुस गरे ।
लामो लाईनमा समय खर्चेर पानी खान पाएकोमा अरु दुख भुलेका स्थानीयले जति जति गर्मि बढ्दै जान्छ त्यती पानीको स्रोत घट्नुको साथै बत्तीको पावर नपुग्ने भएपछि खानापकाउन त परै जावस कहिले खानेपानीपनि नहुने हो की भन्ने पिरलोमा आफूहरु रहेको स्थानीयले लक्ष्मी धामीले गुनासो गर्नुभयो ।
स्थानीय टेकेन्द्र बिकले पाँचसय घरधुरीले एउटा धारोबाट पानी खानुपर्ने बाध्यतासंगै बिजुली बत्तिको समस्या रहेको उल्लेख गर्दै भन्नुहुन्छ “एउटामात्र ट्रान्सफरमरबाट विजुली गाउँभरी पुर्याएको छ , गाउँमा २ वटा मील, सिँचाई बोरिङ पनि विद्युतबाट चल्ने गर्दछन्, गर्मिदिनमा पानीपनि कम आउने र भोल्टेज कम भएपछि खानेपानीको अभाव बढ्दै गएको छ ।”
उहाँले नगरपालिकालाई खानेपानी र विद्युतको समस्याका बारेमा पटकपटक जानकारी गराएको बताउदै नगरप्रमुख र कार्यकारी प्रमुख गाउँमा आएर समस्या बुझेर आश्वसनमात्र दिएर गएको बताउनुभयो । “गतबर्ष पाँचलाख छुट्याएको थियो , त्यतीले अर्को बोरिङ गाड्न र ट्याङ्की बनाउन नपुग्ने भएपछि उक्त रकम खर्च भएको छैन , थप रकम छुट्याएर समस्या समाधान गर्छौ भन्दै मेयर, हाकिमसावले आश्वसन दिनुभएको थियो, अहिले फोननै उठाउनु हुदैन” टेकेन्द्रले गुनासो गर्नुभयो ।
गाउँको समस्या लिएर वडा कार्यालय र नगरपालिका पटक पटक पुग्दापनि समस्या सुनुवाइ नभएपछि जरहीबासीले आफुहरुलाइ स्थानीय सरकारले सौतेनी व्यबहार गरेको बताउँछन् ।
यता घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडकबहादुर रावतले जरहीमा खानेपानीको अभाव रहेको आफूलेपनि प्रत्यक्ष अनुगमनबाट बुझेको बताउनुभयो । तत्काललाई समस्या भएपनि जरहीको नजिकै रहेका गाउँमा प्रदेश सरकारको सहयोगमा दुईवटा खानेपानी आयोजनाकाो काम भईरहेको जनाउदै नगरप्रमुख रावतले योजना सम्पन्न हुनासाथ जरहीबस्तीको खानेपानीको समस्या हलहुने बताउनुभयो । उहाँले वडा न. ८ को मैनापोखर र वडा नम्बर ६ को बछुरियामा पाईपलाईन विस्तार सहितको खानेपानी आयोजनाको काम भईरहेको जनाउनुभयो ।