कैलाली जेठ ११ गते । विद्यालय नर्स कार्यक्रम शुरु भएपछि कैलालीका विभिन्न विद्यालयमा अध्ययनरत् विद्यार्थीहरुले लाभ लिन थालेकाछन् ।
सरकारले ‘एक विद्यालय एक नर्स’ कार्यक्रमको अवधारणा अनुरुप सुदूरपश्चिम सरकारले विद्यालय नर्स सम्वन्धि मार्गदशन २०७७ बनाई कार्यान्वयनमा ल्याएको हो । सुदूरपश्चिम प्रदेश सरकारले नौ जिल्लामा यो कार्यक्रम लागु गरेको छ ।
एक जिल्लाको तीन स्थानीय तहमा एक नर्सको व्यवस्थागरी यो कार्यक्रम लागु भएको सूदुरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ । एक विद्यालय एक नर्स कार्यक्रम भएपनि अहिले जनशक्ति र स्रोतसाधनको अभावले सबैपालिकामा यो कार्यक्रम लागुगर्न नसकिएको बुझिएको छ ।
कैलालीको भजनी, घोडाघोडी नगरपालिकामा विद्यालय नर्स कार्यक्रम लागु भएपछि अहिले त्यहाँका विद्यालयमा नर्सले सेवा दिन थालेकाछन् ।
घोडाघोडी नगरपालिकाका विद्यालय नर्स रोशनी खड्काले आफूले विद्यालय नर्सको रुपमा काम गर्नथालेको आठ महिना भएको बताउनुभयो । उहाँले घोडाघोडी नगरपालिकाका ५१ वटा सामुदायिक विद्यालयमा प्रदेश सरकारको मार्गदशनअनुसार सेवा दिदै आउनुभएको छ । रोशनी भन्नुहुन्छ “सबै विद्यालयमा पुगेको छु , त्यहाका विद्याथीहरु र शिक्षकको समेत सामान्य स्वास्थ्य जाँच, परामर्शसेवा दिने गरेको छु ।”
विद्यालयमा नर्ससेवा दिनेक्रममा बालबालिकामा देखिएका समस्या अनुसार विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि जान रोशनीले सुझाव दिनुहुन्छ ।
“प्रबद्र्धनात्मक र प्रतिकारात्मक कार्य अन्र्तगत मैले विद्यालयमा बालबालिकालाई व्यक्तिगत सरसफाई, पोषण, महिनावारी, सरुवारोगका बारेमा सैदान्तिक कक्षा मार्फत जानकारी गराउँदछु, जन्डिस, आँखा, मुख, तौल, नाप लगायत सामान्य रोगको परिक्षण पनि गर्ने गरेको छु , धेरै बालबालिकामा दाँतको समस्या देखिएको छ” रोशनीले भन्नुभयो, “धेरै बालबालिकामा दाँतका समस्या देखिएपछि सिविर सञ्चालनकालागि मेयर सावलाई भनेको छु ।”
शुरुमा आफ्नो समस्या भन्न लाज मान्ने,बोल्न डराउने बालबालिकाहरु नियमित भेटघाट र परामर्श पाउन थालेपछि विद्यालय नर्ससंग खुलेर आफ्ना कुरा राख्न थालेका छन् ।
रोशनी भन्नुहुन्छ “विद्यालयमा बालबालिकाका स्वास्थ्य समस्या बुझ्ने क्रममा कतिपय बच्चाहरु लागुपदार्थ दुव्र्यसनमा फसेको समेत पाए , उनीहरुसंग नजिकभएर कुरागर्दा समस्या पत्ता लगाए ,त्यस्ता बालबालिकालाई लागुपदार्थको असरका विषयमा मसिनो गरी सम्झाए, उनीहरुले कुलतमा नलाग्ने बाचा गरे र अहिले सुध्रिएका पनि छन् ।”
रोशनीको घर घोडाघोडी नगरपालिका १० पहलमानपुरमा हो । आफ्नै ठाउँ कार्यक्षेत्र भएपछि उहाँले बालबालिकालाई मात्र होईन जेष्ठ नागरिकलाई समेत स्वास्थ्यसेवा दिनुभएको छ ।
स्वास्थ्यसंस्था आउनसक्ने लाई संस्थाबाट र नआउन सक्ने जेष्ठ नागरिकलाई घरसम्म पुगेर सेवा दिनेगरेको रोशनीले बताउनुभयो । खुशीहुदै रोशनीले भन्नुभयो “आफ्नो ठाउँमा सेवा गर्ने मौका पाएको छु , ईमान्दारीका साथ आफूले पढेको जानेको ज्ञानलाई सेवामा लगाउँछु ।”
कतिपय पालिका आफैले कार्यविधि वनाएर विद्यालय नर्स कार्यक्रम लागु समेत गरेको पाईन्छ ।
जानकी गाउँपालिकाले तीन बर्ष पहिला नै दुईजना विद्यालय नर्स राखेर गाउँपालिकाका ३३ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुको स्वास्थ्यमा सहयोग पुर्यादै आएको छ । जानकी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीले गाउँपाललिकाले दुईजना विद्यालय नर्स व्यवस्था गरेपछि विद्यालयका बालबालिकाको दिवाखाजा, सेनेटरी प्याड लगायत व्यक्तिगत सरसफाईमा सहयोग पुगेको बताउनुभयो ।
विद्यालय नर्स आईसकेपछि दिवाखाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ भने कुपोषित बालबालिकाको पोषणमा ध्यान दिन थालिएको छ । साथै विद्यालयमा बालबालिकामा देखिने बेहोस हुने, मास हिस्टेरिया जस्ता समस्याको प्राथमिक उपचारमा समेत विद्यालय नर्सले सहयोग पुर्याएको बताइएको छ ।
शाखाप्रमुख चौधरीले विद्यालयमा बालबालिका, किशोर किशोरीमा आउने प्रजनन् स्वास्थ्य लगायतका विषयमा परामर्शदायी सेवा दिनुका साथै प्राथमिक उपचारमा समेत विद्यालय नर्सको भूमिका रहेको बताउनु भयो । उक्त पालिकामा शारदा चौधरी र निरा चौधरीले विद्यालय नर्सको भूमिका निर्वाह गर्दै आउनुभएको छ ।