कैलाली, साउन २५
सिमान्तकृत समुदायको अधिकारका लागि वकालत गर्दै आएकी बैतडीकि सरस्वती नेपालीले संयुक्तराज्य अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटको यस वर्षको ‘ग्लोबल एन्टी-रेसिज्म च्याम्पियन्स अवार्ड’ (जीएआरसी) प्राप्त गरेकी छन्।
बीस वर्षदेखि नेपालमा सीमान्तकृत जाति, अपाङ्गभएका व्यक्ति र गरिबहरूको मानवअधिकारको वकालत गरिरहेकी सामाजिक कार्यकर्ता र दलित समाज विकास मञ्चको अध्यक्षका रूपमा उनले सो अवार्ड प्राप्त गरेको अमेरिकी दूतावासले बुधबार जनाएको छ।
उनको प्रयासले नेपालको ग्रामीण पश्चिमी जिल्लाका धेरै दलित परिवारले जग्गाको कानुनी हक र न्याय पाएका छन्। अध्यक्ष नेपालीले सन् २००७ मा नेपालको इतिहासमा जातीय भेदभावको पहिलो सफल अभियोजनसहित न्यायको खोजीमा थुप्रै जातीय भेदभावविरुद्धका मुद्दा जितेकी थिइन्। सम्मान र समानताको खोजीमा उनको योगदान, साहस र समर्पणको उदाहरण हो।