कैलाली भदौ १० गते । कैलालीको लम्की चुहा ८ गप्काका मयाराम जैशीले लामो समयदेखि व्यवसायीक भैसी पालन गर्दै आउनु भएको छ । २०७३ सालमा ३ वटा भैसीबाट शुरु भएको जैशीको गोठमा हाल भैंसी र गाई गरेर ३५ वटा पुगेका छन् । जैशीले दैनिक आफूले पालेका पशुको एकसय लिटर दुध विक्री गर्नुहुन्छ ।
शुरुमा दुध विक्री नभएर दुख पाएका जैशीलाई हिजो आज दुग्ध विकास संस्थानले दुध खरिद डिपो सञ्चालनमा ल्याई खरिद गर्न थालेपछि सहज भएकोछ ।
जैशी भन्नुहुन्छ“शुरुमा कति दुख पाईयो हजुर दुध विक्रि नहुने भएपनि उचित मुल्य नपाईने , तीन बर्ष भयो ढुक्क भाको छ, मैले नै डिडिसीलाई डिपो सञ्चालनका लागि धेरै आग्रह गरे ।”
शुरुमा ४० रुपैयाँ प्रति लिटर दुध बेच्दै आएका जैशीले अहिले डिडिसीमा ६० रुपैयाँ प्रति लिटरका दरले दुध विक्री गर्दै आउनु भएको छ ।
जैशी भन्नुहुन्छ “लम्की चुहा नगरपालिकामा किसानले खाएर बचेको दैनिक दुई हजार लिटर दुध डेरी र डिडिसीलाई विक्री गरिन्छ । एकहजार लिटर नगरपालिकामै खपत हुन्छ बाँकी एकहजार डिडिसी मार्फत बाहिर जान्छ ।”
भैंसी पालन व्यवसायी जैशीका अनुसार लम्कीमा चाडो दिनमा भन्दा गर्मि दिनमा दुधको खपत बढी हुन्छ । जाडो दिनमा पाँचसय लिटर देखि हजार लिटर सम्म खपत हुन्छ भने गर्मि दिनमा एकहजार देखि पन्ध्रसय लिटर दैनिक दुध खपत हुन्छ ।
अहिले जैशीले आफूसंग भएको र गाउँबाट सङ्कलन भएको ३५० लिटर दुध दैनिक डिडिसीको डिपोमा दुध विक्री गर्दै आएको बताउनुभयो ।लम्कीका अन्य वडाबाट समेत डिडिसीमा जम्मा हुने भएकाले दैनिक एकहजार लिटर दुध बाहिर जाने गरेको उहाँले जानकारी दिनुभयो ।
लम्की चुहा नगरपालिका पशुसेवा शाखाका प्रमुख मेगेन्द्रबहादुर हमालले लम्कीचुहा नगरपालिका दुधले आत्मनिर्भर बन्नुको साथै निर्यात समेत गर्ने गरेको बताउनुभयो ।
उहाँले पहिला पहिलो बढी भएको दुध बाहिर पठाउने कुनै व्यवस्था नभएपछि किसानले दुधको मुल्य नपाएको उल्लेख गर्दै डिडिसीको डिपो मार्फत दुध बाहिर जान थालेपछि किसानले मुल्य पाएको बताउनुभयो ।
हाल एकहजार लिटर दुध लम्कीचुहा नगरपालिकाबाट दैनिक बाहिर जाने गरेको समेत शाख प्रमुख हमालले जानकारी दिनुभयो ।