Thursday, November 30, 2023

पर्यटक भिसा लगाएर मानव तस्कर गर्ने गिरोह पक्राउ

मङ्गलबार, २१ कात्तिक २०८०
काठमाडौँ । भिजिट भिसामा विदेश जानेहरुसँग फेला परेका शंकास्पद कागजात अनुसन्धान गर्दै जाँदा फर्जी कागजात बनाउने गिरोहको कारखानासम्म पुग्न प्रहरी सफल भएको छ ।
पर्यटक प्रवेशाज्ञा शंकास्पद देखिएपछि विमानस्थल सुरक्षा कार्यालयले १ हजार ३२ थान पासपोर्ट सहितका कागजात अनुसन्धान गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयमा पठाएको थियो । सो कागजातबारे अनुसन्धान गर्दा गिरोहले फर्जी कागजात बनाएर पर्यटक भिसा लगाएर सर्वसाधारणलाई विदेश पठाउने गरेको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी गराएका छन्।

रेग्मीले भने, ‘भिजिट भिसामा पठाउन गिरोहले ३ लाखसम्म लिने गरेको अनुसन्धानबाट भेटिएको छ । फर्जी कागजात बनाइदिएर विमानस्थलमा सेटिङ मिलाएर पठाउने काममा संलग्न प्रहरी जवानसहित १३ जना अहिले थुनामा छन् । विमानस्थलमा सेटिङ मिलाउने अध्यागमनका कर्मचारी, प्रहरी र एयरलाइन्सका कर्मचारीहरुबारे पनि उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ ।’

अनुसन्धानमा संलग्न डीएसपी गोविन्द पन्थीका अनुसार २ सय ९६ जनाको शंकास्पद कागजात र विमानस्थलमा सेटिङ मिलाउनेहरुबारे अनुसन्धान भइरहेको छ ।

विदेश जान चाहनेहरुलाई गिरोहले प्लस टुको सर्टिफिकेट, नाता प्रमाणित, पुलिस रिपोर्ट र श्रम स्वीकृतिसमेत नक्कली बनाइदिने गरेको भेटिएको छ ।

दाङ घर भएका एकजना पूर्व सैनिक भिजिट भिसामा रसिया जाँदै थिए । सेनाबाट राजीनामा दिएका ती पूर्व सैनिकलाई प्रहरीले रोकेपछि अनुसन्धान अधिकृतहरुलाई उनले आफूलाई कागजात बनाउन सघाउने एउटा नम्बर दिए । उक्त नम्बर प्रयोगकर्ता थिए काभ्रे घर भएका जीवराज तामाङ । उनी विमानस्थलमा कार्यरत प्रहरी जवान हुन् ।
जीवराजबाट प्रहरीले अनुसन्धान थालेको हो । जीवराजको मोबाइलमा फर्जी कागजातको चाङ नै भेटिएको छ ।  जीवराजले उदयपुरका आशिष श्रेष्ठसँग मिलेर विमानस्थलमा ‘सेटिङ’ मिलाउँदै आएको थाहा भएको छ ।

फर्जी कागजात तयार गर्न नयाँ बसपार्कस्थित मन्जरी ट्राभल्सका सञ्चालकको पनि भूमिका देखिएको छ । मन्जरी ट्राभल्सका सञ्चालक गोरखाका ३४ वर्षीय भक्त बहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ ।

आशिष श्रेष्ठ र नवलपुरको मध्यबिन्दु नगरपालिका–५ घर भएका जयराम श्रेष्ठले भने अनुसारको कागजात भक्तबहादुरले १० हजार लिएर बनाइदिने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

फर्जी कागजात भक्तबहादुरले नक्साल घर भएका दिपक केसीलाई ‘अर्डर’ गर्ने गरेका थिए । दिपकले काठमाडौँको टोखामा कारखाना नै सञ्चालन गरेको भेटिएको छ ।

पठाओमार्फत डेलिभरी

फर्जी कागजात बनाउने गिरोहले अर्डर भएका कागजात बनाएर पठाओ मार्फत ‘डेलिभरी’ दिने गरेको थियो । पक्राउ पर्ने डरले उनीहरुले त्यस्तो सचेतता अपनाउने गरेको अनुसन्धानमा संलग्न डीएसपी गोविन्द पन्थीले रातोपाटीलाई बताए ।

भिजिट भिसामा विदेश जान चाहने एक जना युवकले दीपक केसीसँग कागजात बनाइदिन आग्रह गरे । कागजात तयार गरेर केसीले पठाओमा पठाइदिए । डेलिभरी लिएर आउने पठाओ राइडरमार्फत प्रहरी दीपकको कारखानासम्म पुगेको हो ।

टोखा नगरपालिका–५ मा सञ्चालित केसीको कारखानामा छापा मारेपछि उनले बलबहादुर राउतले पनि यस्तै काम गर्ने गरेको खुलासा गरे । त्यसपछि प्रहरी स्वयम्भुस्थित राउतको कारखानामा पुगेको थियो ।

सल्यान घर भएका बलबहादुर राउतलाई पक्राउ गरेर उनको कारखानामा भेटिएका कागजात प्रहरीले जफत गरेको छ । टोखास्थित कारखानामा तयार गरिएका १५० थान सर्टिफिकेट र सरकारी निकायको छाप प्रहरीले बरामद गरेको छ ।

फुर्वु लामु शेर्पा दुबई जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगिन् । प्लस टुको सर्टिफिकेटमा शंका लागेर प्रहरीले उनलाई फिर्ता गरिदियो । राष्ट्रिय परीक्षा बोर्डमा पत्राचार गर्दा उनको सर्टिफिकेट नक्कली पुष्टि भयो । फुर्बुले भनिन्, ‘मलाई जयराम श्रेष्ठले बनाएर दिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

1 of 97

Leave A Reply

Your email address will not be published. Required fields are marked *